मौद्रिक नीतिको समीक्षाले कर्जाको ब्याजदर घट्न सहयोग पुग्छ: सन्तोष कोइराला



काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिको समीक्षा अर्थतन्त्र चलायमान बनाउने किसिमले आएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै उपाध्यक्ष कोइरालाले समीक्षाले ब्याजदर घटाउन सहयोग पुग्ने बताएका हुन् ।

घरजग्गा कर्जा र सेयर कर्जाको जोखिम भार १५० बाट १२५ मा झार्ने र आवासीय कर्जामा पनि परिमार्जन भएकाले बैंकहरुको पनि विस्तारै कर्जा प्रवाह बढ्ने उनले बताए । ‘मौद्रिक नीतिको समिक्षाले पुसदेखि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ,’ उनले भने ।

मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउनुपर्ने दबाब बैंकहरुलाई सिर्जना भएको उनले बताए । उपाध्यक्ष कोइरालाले बैंकहरुको कर्जाको ब्याजदर पनि घट्दै जाने अवस्था रहेको धारणा राखे ।

निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्ने भएकाले ऋणीहरुलाई सहज हुने उनको भनाइ छ । माघ महिनामा बैंकहरुले ब्याजदर परिर्वतन गर्दा कर्जाको ब्याजदर घट्ने स्पष्ट पारे । चाडपर्व भर्खरै सकिएकाले लचिलो मौद्रिक नीतिको समीक्षा आएकाले मागसमेत वृद्धि हुँदै जाने कोइरालाको तर्क छ ।


क्लिकमान्डु