रियल इस्टेट कर्जामा लचकता, जोखिम भार घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल इस्टेटको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले पहिलो त्रैमासिकमा मौद्रिक समीक्षा सार्वजनिक गर्दै रियल इस्टेट कर्जाको जोखिम भार घटाएको हो ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएर ६० प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाएको हाे । यसअघिको ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत बनाइएको हो ।
यसको अर्थ कुल आम्दानीको ५० प्रतिशतसम्म मात्र किस्ता तिर्न सक्ने गरी ऋण पाउँदै आएकोमा अब ६० प्रतिशतसम्म पाउने भएका छन् । ब्याजदर घट्दो क्रममा रहेकाले यसबाट ऋणलाई दोहोरो लाभ हुनेछ ।