अख्तियार पुगेको चर्चित घोराही सिमेन्ट प्रकरणः सबै प्रक्रिया कानुनअनुसार भएको सेबोनको जिकिर



काठमाडौं । सार्वजनिक निष्कासन (आईपीओ) गरेदेखि नै घोराही सिमेन्ट कम्पनी निकै विवादमा तानियो । कम्पनीले जेठ अन्तिम साता प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओमा फर्जी आवेदन परेपछि घोराही सिमेन्टको विवाद बाहिरियो ।

१२ जनालाई खातामा पर्याप्त पैसा नभई १० लाख कित्ताका दरले आवेदन दिन लगाएर कम्पनीको आईपीओमा आकर्षण देखाउन खोजिएको आरोप लाग्यो। घोराहीलाई सर्वसाधारणले आवेदन नदिने डरले फर्जी आवेदनकर्ता खोजेर सेयर भर्न लगाइएको थियो ।

आईपीओमा धेरैभन्दा धेरै आवेदन परेपछि छोटो समयमा मागभन्दा बढी आवेदन पर्‍यो भन्दै उच्चआकर्षण देखाउन १२ जनाले १० लाख कित्ताका दरले ४३ करोड ५० लाख रुपैयाँको आवेदन परेपछि थाहा भयो ।

त्यसपछि धितोपत्र बोर्डले निष्कासन भइरहेको आईपीओ रोकेर जाँचबुझ समिति गर्‍यो । समितिले अध्ययन गर्दा फर्जी आवेदन दिने १० जनाको पहिचान पनि भयो । असार २० गते बोर्डले विज्ञप्ति जारी गर्दै उक्त प्रकरणमा एनआईसी एशिया बैंकलाई मुछिदियो ।

आवेदकले खातामा पैसा नभए पनि आवेदन दिँदा आश्वा सदस्य रहेको बैंकले आवेदन स्वीकृत लिएको भन्दै बैंकमा पनि छानबिन गरी आवश्यक कारबाही गर्न सिफारिस गर्‍यो । पछि बोर्डले त्यो अध्ययन प्रतिवेदन थप अध्ययनका लागि प्रहरीमा पठाउने भन्यो ।

बोर्डको जाँचबुझ समितिले गरेको अध्ययन प्रतिवेदनमा ‘आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के-कसरी आवेदनहरु स्वीकृत भएको हो, त्यस सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अगाडी बढाउने’ उल्लेख छ ।

खातामा पैसा नभई आवेदन परेपछि असार ४ गते बोर्डले उक्त आवेदन प्रक्रिया स्थगन गरेर जाँचबुझ गरेको थियो । सिमेन्ट कम्पनीमा त्रिवेणी ग्रुप र विशाल ग्रुपको प्रमुख लगानी रहेको छ । त्रिवेणी ग्रुपका सञ्चालक रामचन्द्र संघाई एनआइसी एशिया बैंकको सञ्चालक छन् ।

त्यस्तै विशाल ग्रुपका तर्फबाट एनआइसी एशिया बैंकमा अध्यक्ष तुल्सीराम अग्रवाल, सञ्चालकहरु त्रिलोक चन्द्र अग्रवाल, आदित्य कुमार अग्रवाल रहेका छन् । संघाई र अग्रवालबीच पारिवारिक सम्बन्ध छ भने बैंकको सञ्चालकमा रहेका अग्रवालहरु एकाघरमा हुन् ।

यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्यो । त्यो बेला बोर्डको भूमिकामा पनि प्रश्न उठ्यो । घोराही सिमेन्टको माउ कम्पनी र रेटिङ एजेन्सीको माउ कम्पनी एउटै भएको अवस्थामा राम्रो रेटिङ गराएर प्रिमियम मूल्यमा सेयर जारी गर्न बोर्डले अनुमति दिएको भन्दै प्रश्न पनि उठे ।

सेयर निष्कासन प्रक्रिया सुरु भइसकेपछि जेठ ३० गते बोर्डले क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरीत भए/नभएको बारेमा विशाल समूहकै केयर रेटिङ नेपाल लिमिटेडलाई ३ दिनभित्र प्रस्ट पार्न पत्र लेखेको थियो ।

यो प्रकरणमा धेरै विवाद भएपछि घोराही सिमेन्ट इण्डस्ट्रीको सार्वजनिक निष्कासनसम्बन्धी अध्ययन गरेर प्रतिवेदन बनायो । बोर्डले अध्ययन गरे पनि प्रतिवेदन भने लुकाएर राखेको थियो । जब सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टलाई प्रिमियममा आईपीओ बिक्री गर्न दिँदा भएको भनिएको अनियमितता के हो ? यसको छानबिनको निष्कर्ष के हो ? (छानबिन प्रतिवेदनसमेत उपलब्ध गराउनुहुन) भनेर कात्तिक १६ मा पत्र पठायो । त्यसपछि बोर्डले कात्तिक २३ गते समितिमा अध्ययन प्रतिवेदन नै बुझाएको छ ।

अध्ययन प्रतिवेदनमा बोर्डले गरेको अध्ययनको निष्कर्षमा उक्त समयमा भएका सबै कार्य प्रचलित ऐन नियमबमोजिम रहेको उल्लेख छ ।

बोर्डले गरेको अध्ययनको निष्कर्षमा घोराही सिमेन्ट कम्पनीबाट पेस भएको निवेदन तथा संलग्न विवरणपत्र तथा निवेदनको साथ पेस भएका कागजातको आवश्यक अध्ययन तथा जाँचबुझ गरी धितोपत्र दर्ता गरी सार्वजनिक निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरेको उल्लेख छ ।

कम्पनीले आवश्यक सबै पालना गरेको र लगानीकर्तालाई लगानी सम्बन्धी सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारी लुकाएको तथा विवरणपत्रमा प्रकाशित तथ्य तथा विवरणहरु ठिक दुरुस्त रहेको दाबी गरेको छ ।

वास्तविक तथा उत्पादनमूलक क्षेत्रको कम्पनीको रुपमा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले अंकित मूल्य १०० रुपैयाँका दरले ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण सेयर बोर्डमा दर्ता गर्न निवेदन दिएको जनाएको छ ।

कम्पनीले जारी गरी बोर्डमा दर्ता भएका सेयरमध्ये उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई जारी पुँजीको १ प्रतिशत अर्थात् ३ लाख ९७ हजार १९० कित्ता १०० रुपैयाँका दरले प्रिमियमबापत ३०० रुपैयाँ थप गरी ४०० रुपैयाँमा एवं सर्वसाधारणलाई जारी पुँजीको १९ प्रतिशत अर्थात् कुल ७५ लाख ४६ हजार ६११ कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियमबापत ३३५ रुपैयाँ थप गरी ४३५ रुपैयाँमा ७९ लाख ४३ हजार ८०१ कित्ता साधारण सेयर प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्कासन गर्न विवरणपत्र स्वीकृतिका लागि बोर्डमा निवेदन पेस गरेको जनाएको छ ।

धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनका सम्बन्धमा धितोपत्रसम्बन्धी ऐन २०६३ तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को व्यवस्थाअनुसारका व्यवस्था पूरा गर्नुपर्ने व्यवस्थाअनुसार उक्त कम्पनीबाट पेस भएको निवेदन तथा संलग्न विवरणपत्र तथा निवेदनको साथ पेस भएका कागजात सम्बन्धमा आवश्यक अध्ययन तथा जाँचबुझ गरी धितोपत्र दर्ता गरी सार्वजनिक निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा २५ (१, २ र ३) अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन गर्न प्रिमियम निर्धारण गरी आवश्यक विवरणसहित निवेदन पेस गरेको सन्दर्भमा बोर्डले प्रचलित धितोपत्रसम्बन्धी ऐन नियम तथा निर्देशिकाबमोजिम विवरणपत्र प्रकासन गर्न स्वीकृति प्रदान गरेको जनाएको छ ।

प्रारम्भिक सार्वजनिक निष्कासन गर्न प्रिमियम निर्धारण गर्दा धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को उल्लिखित दफा तथा उपदफाका प्रावधान तथा व्यवस्थाहरु परदर्शी रुपमा विवरणपत्रको दफा १० अन्तर्गत प्रिमियममा धितोपत्र जारी गर्दा खुलाउनुपर्ने कुराहरु तथा प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि र औचित्यसमेत सर्वसाधारण लगानीकर्ताले हेर्न सक्ने गरी खुलाइएको प्रतिवेदनमा उल्लेख छ ।

साथै निष्कासनकर्ता संस्था घोराही सिमेन्ट कम्पनी र प्रत्याभूतिकर्ता संख्या नागरिक लगानी कोषबीच धितोपत्र निष्कासनका सम्बन्धमा मिति २०७२ साउन ५ गते भएको प्रत्याभूति सम्झौता बोर्डमा पेस गरेको छ ।

घोराही सिमेन्ट इन्डष्ट्रीले अंकित मूल्यमा प्रिमियमबापतको रकम थप गरी निष्कासन गरिने  ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर पूर्णरुपमा बिक्री नभई बाँकी रहन गएमा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषले खरिद गर्ने प्रत्याभूति गरेको सेयर खरिद गर्नुपर्ने तथा कम्पनीले प्रत्याभूतिकर्ताबाट सेयरबापतको रकम प्राप्त गरेपश्चात उक्त सेयर सर्वसाधारण सेयरधनीसरह प्रत्याभूतिकर्तालाई हस्तान्तरण गर्नुपर्नेछ भनी सेयर प्रत्याभूतिकर्ताको दायित्वअन्तर्गत प्रत्याभूतिको सम्झौताको बुँदा नं ४२ मा उल्लेख गरेको हुनाले निष्कासनकर्ताले अंकित मूल्यमा प्रिमियम थप गरी निष्कासन गरिने सेयर पूर्णरुपमा बिक्री नभई बाँकी रहन गएमा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषले खरिद गरी ग्रहण गर्नुपर्ने वा सकार्नुपर्ने दायित्व हुने जनाएको छ ।

प्रिमियमसहित निष्कासन भएको उक्त कम्पनीको सेयरको मूल्य सम्बन्धमा प्रत्याभूतिकर्ता कम्पनीबाट समेत आवश्यक अध्ययन भई उक्त मूल्यलाई समर्थन गरेको प्रमाणित हुने बोर्डको दाबी छ ।

निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड तथा सह-निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको प्रमुख कार्यकारी अधिकृतले दस्तखत गरेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएका विवरण तथा जानकारीहरु निष्कासनकर्ता कम्पनीबाट प्राप्त जानकारी अनुरुप तथ्यगत, पूर्ण र सही भएको, प्रचलित धितोपत्र कारोबारसम्बन्धी कानुनअनुसार पेस गर्नुपर्ने सम्पूर्ण कागजात तथा विवरणहरु प्रमाणित गरी पेस गरिएको, कम्पनीको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययन गर्दा कम्पनीले गरेको वा गर्न लागेको व्यवसाय सम्बन्धमा सकारात्मक धारणा रहेको अध्ययनमा उल्लेख छ ।


सोभित थपलिया