नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय



काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत लैजाने भएको छ ।

बुधबार बंगलादेश सरकारले भारतीय ग्रिडमार्फत प्रत्यक्ष खरिद विधिअन्तर्गत नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको हो ।

बंगलादेशको मन्त्रिपरिषद् विभागका अतिरिक्त सचिव सैयद महबुब खानले नेपालबाट आयात हुने बिजुली बंगलादेश र नेपाल बाहेक तेस्रो मुलुक भारतको विद्युत ग्रिडमार्फत प्रत्यक्ष खरिद विधिबाट हुने विद्युत खरिद सम्झौतामा हुने बताए ।

गत जेठमा बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो ।

बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित ५ सय मेगावाट बिजुली लैजाने प्रस्ताव यसअघि नै गरेको थियो । माथिल्लो कर्णाली निर्माणको जिम्मा भारतीय कम्पनी जीएमआरले पाएको छ ।

त्यस्तै ६८३ मेगावाटको सुनकोसी-३ जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गरेर त्यसबाट पनि बजुली लैजान चाहेको छ । ऊर्जा संकटका कारण बंगलादेशमा दैनिक ६-७ घण्टा लोडसेडिङ हुने गरेको छ ।


क्लिकमान्डु