बिनाएजेन्डा मंगलबार राष्ट्र बैंक सञ्चालक समितिको बैठक, कहिले होला मौद्रिक नीतिको समीक्षा ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक मंगलबार (भोलि) साँझ ५ बजेका लागि बोलाइएको छ । सञ्चालक समितिका सचिव मुक्ति सापकोटाले सबै सञ्चालकहरुलाई फोन गरेर मंगलबार साँझ सञ्चालक समितिको बैठकका लागि निम्ता दिएका हुन् ।

तर, सञ्चालक समितिको बैठकमा एजेन्डा के छ ? भनेर खुलाइएको छैन । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न ढिला भइरहेका बेला राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बिनाएजेन्डा बोलाइएको हो ।

‘हामीलाई मंगलबार साँझ बोलाइएको छ तर एजेन्डा भनिएको छैन,’ एक सञ्चालकले क्लिकमान्डुसँग भने, ‘बिनाएजेन्डाको बैठकमा हामीले के तयारी गर्ने ?’

बोर्डकै सञ्चालकहरुले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका लागि बैठक बोलाइएको हुनसक्ने आँकलन गरेका छन् । किनभने, मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार समयसीमाभित्रै समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंक १८ दिन ढिला भइसकेको छ । समयमै मौद्रिक नीतिको समीक्षा नगरेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको आलोचना भइरहेको छ । तर, गभर्नर अधिकारी भने कात्तिकको तथ्यांक आएपछि त्यसका आधारमा नीतिमा संशोधन गर्न सजिलो हुने भन्दै केही ढिला गरिएको बताउँछन् ।

तर, राष्ट्र बैंकका अधिकारीहरु भने मंगलबारको सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिको समीक्षाबारे छलफल गर्ने योजना अहिलेसम्म नरहेको बताउँछन् ।

‘मंगलबारको बैठक दैनिक कार्यसम्पादनसँग सम्बन्धित हो,’ एक अधिकारीले क्लिकमान्डुसँग भने, ‘कतिपय संवेदनशील विषय हुने भएकाले पहिला एजेन्डा नभन्ने अभ्यास पनि छ ।’

मंगलबारको बैठकमा बोर्ड सदस्यसमेत रहेका अर्थसचिव सहभागी हुनेछैनन् ।

‘सरकारका केही कुराहरु पनि सम्बोधन गर्नुपर्ने होला, सचिवज्यू नै नभएको अवस्थामा मौद्रिक नीतिको समीक्षा हुँदैन,’ ती अधिकारीले भने, ‘सचिवज्यू फर्केपछि बस्ने बैठकले मौद्रिक नीतिको समीक्षा गर्छ ।’

सञ्चालकहरुले दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय सञ्चालक समितिबाट मात्रै गर्नुपर्ने माग गर्दै आएका छन् । यो पटकको समीक्षा अगाडि घनिभूत छलफल हुनुपर्ने माग पनि उठ्दै आएको छ ।

तर, गभर्नर अधिकारी भने मौद्रिक नीतिको समीक्षामार्फतर पोलिसी रेट घटाउने लगायतका केही नीतिगत निर्णय मात्रै समेट्ने र बाँकी कुरा नियमन विभागमार्फत् परिपत्र जारी गर्ने तयारीमा छन् ।

‘रेगुलेटरी कुराहरु सर्कुलरमार्फत् गर्ने भन्ने गभर्नरसा’बको मुड छ,’ स्रोतले भन्यो, ‘निजी क्षेत्रले प्रधानमन्त्रीकहाँ उभ्याएकोमा व्यक्तिगतरुपमा गभर्नरसा’ब खुसी त हुनुहुन्न तर दबाब थेग्न नसकेर सर्कुलरमार्फतर केही लचिलो हुने संकेत भने गर्नुभएको छ।’

गभर्नर अधिकारीले शुक्रबार सेजनको कार्यक्रममा पछिल्ला महिनाहरुको तथ्यांक हेर्दा केही खुकुलो गर्न सक्ने ठाउँ देखिएको बताएका थिए ।


क्लिकमान्डु