नेपाल क्लियरिङ हाउसको चुक्ता पुँजी १ अर्ब नाघ्यो, क्रस बोर्डर कारोबारका लागि पूर्वाधारमा लगानी बढाउने



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले २८.५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरणपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब नाघ्ने भएको छ । बैठकले अधिकृत पुँजी वृद्धि गरी २ अर्ब पुर्‍याउन पनि स्वीकृति दिएको छ ।

कम्पनीले पुँजी वृद्धिमार्फत नेसनल पेमेन्ट स्विचमा लगानी गर्नुका साथै नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने जनाएको छ ।

साधारण सभाले कम्पनीको सेयर स्वामित्व संरचनामा साविकझैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमात्र कायम रहने गरी गाभ्न, गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानीसम्बन्धी प्रविधिमा अनुसन्धानलगायत प्रविधि र सफ्टवेयरको विकाससमेत गर्ने उद्देश्यसहित सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन पनि गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीबाट फर्छ्यौट भएका कारोबारहरुको संख्या १६ प्रतिशतले बढेसँगै कम्पनीको खुद नाफा ६ प्रतिशतले वृद्धि भएको छ । गत आवमा आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीमार्फत १४१ खर्बबराबरको ८ करोड १९ लाख भुक्तानी कारोबार राफसाफ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १० र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका १ जना, वाणिज्य बैंकहरुबाट ३ जना तथा विकास बैंक, फाइनान्स कम्पनी र स्वतन्त्र निर्देशक १-१ जना छन् ।

एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्था र ९५ भन्दा बढी गैरबैंकिङ संस्था आबद्ध छन् ।


क्लिकमान्डु