पशुपतिनाथले अर्थतन्त्र सुधार गर्छन् भनेर नबसौं, सरकार र राष्ट्र बैंकले समस्या स्वीकार गर्नुपर्छ: अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भनेर सरकार र राष्ट्र बैंकले स्वीकार गर्न नसकेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औं वार्षिक साधारणसभा तथा अवार्ड वितरण समारोहमा अग्रवालले भने, ‘ सरकार र राष्ट्र बैंकले अर्थतन्त्रमा समस्या छ भनेर स्वीकारेका छैनन् तर स्वीकार्नुको विकल्प छैन ।’
राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पहुँचका आधारमा भन्दा पनि विज्ञताका आधारमा नियुक्ति दिलाउन उनले आग्रह गरे । राष्ट्र बैंक माइक्रो म्यानेजमेन्टतिर लाग्न नहुने अग्रवालले बताए । ‘अर्थतन्त्र सुधारका लागि जे गर्छन्, पशुपतिनाथले गर्छन् भनेर बस्न हुँदैन,’ उनले भने ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलो प्रक्रियाका कारण लगानी भित्रिन नसकेको बताए । नेपालले लघु घरेलु तथा साना उद्योगमा (एमएसएमइज)मा ध्यान दिनुपर्ने सुझाव उनले दिए ।
नियमावली बनाएर मन्त्रालयमा पठाएको र स्वीकृत भएर आएपछि भेन्चर क्यापिटललाई काम गर्न सजिलो हुने हमालले बताए ।
चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले ऋणीका जमानतलाई कालोसूचीमा राख्ने विषयमा राष्ट्र बैंकले गरेको संशोधन स्वागतयोग्य रहेको धारणा राखे ।