पैसा ठगेर विदेश भाग्न खोज्ने बैंकका कर्मचारीलाई ८ वर्षको कैद सजाय, तीन जनालाई सफाइ



काठमाडौं । पैसा ठगेर विदेश भाग्न खोज्ने कृषि विकास बैंकका कर्मचारीलाई विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत केदारप्रसाद गौतमलाई कैद सजाय सुनाएको हो ।

विशेष अदालतले अदालतमा मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । उक्त मुद्दामा आठ जना प्रतिवादी रहेकोमा पाँच जना दोषी ठहर भएका छन् भने तीन जनाले सफाइ पाएका छन् ।

अदालतले सम्झना पोखरेल, सन्दिप गुप्ता र सूर्यबहादुर लिम्बूलाई पनि एक–एक महिना कैद सजाय सुनाएको छ । गौतमकी श्रीमती सम्झनालाई बैंकको रकम हिनामिनामा सघाएको अदालतले ठहर गरेको छ ।

सम्झना आफ्नो नाममा रहेको जग्गा बेचेर भारत जाने तयारीमा थिइन् । त्यस्तै गुप्ताले गौतमले गैरकानुनी रुपमा बैंकबाट निकालेको रकम अन्य खातामा जम्मा गरिदिएर सहयोग गरेका थिए ।

अदालतले सोही मुद्दाका प्रतिवादी बनाइएका भरतबहादुर बानियाँ, जेनी श्रेष्ठ गौतम र सुमन भुजेललाई भने सफाइ दिएको छ ।

कृषि विकास बैंकको स्वयम्भु शाखामा अधिकृत रहेका बेला गौतमले २०७१ सालदेखि नै बैंकको रकम हिनामिना गर्दै आएका थिए । उनले तेजबहादुर थापा नामको नक्कली नागरिकता प्रयोग गरी फर्जी कारोबार देखाएर रेमिटबाट आएको पैसा अपचलन गर्ने गरेका हुन् ।

अनुसन्धानका क्रममा बैंकको रकम अपचलन गरेका गौतम नक्कली राहदानी बनाएर विदेश जाने तयारीमा रहेको समेत खुलेको थियो ।

विभिन्न नाममा किर्ते कागज बनाएर रकम अपचलन गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतममाथि अनुसन्धान थालेको थियो । अख्तियारले चार वर्षअघि विशेष अदालतमा दायर गरेको मुद्दा आज फैसला भएको हो ।


क्लिकमान्डु