नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु: प्रदर्शनी स्थल निर्माण तत्काल अघि बढाउने प्रतिबद्धता



????????????????????????????????????

काठमाडौं । सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौंदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडि बढाउन आफ्ना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबारदेखि काठामडौंमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले स्तरीय प्रदर्शनी स्थलको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अन्तराष्ट्रिय व्यापार मेलाको यो नवौँ संस्करण हो । मेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा आयोजना भएको हो । मेलाको सह–आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् ।

निजी क्षेत्रले करिब तीन देशकदेखि स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाइ भइरहेको महासंघले जनाएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैधले स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि वर्षौंदेखि अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएकोमा बताए ।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले महासंघले ५६ सालदेखि अन्तर्राष्ट्रिय मेला आयोजनालाई निरन्तरता दिँदै आए पनि पूर्वाधार भने पहिलेकै अवस्थामा रहेको बताए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमै सुस्तता छाएको अवस्थामा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनाबाट थोरै भए पनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मेलाको करिब १ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा आइएमई पे युजरका लागि प्रवेश पास निःशुल्क गरिएको छ । मंसिर १८ सम्म चल्ने मेलामा नेपालसहित चीन, भारत, बंगलादेश र पाकिस्तानका गरी करिब २१० स्टल सहभागी छन् ।


क्लिकमान्डु