माथिल्लो अरुण बनाउन २ अर्ब २३ करोड मुआब्जा वितरण



संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजना प्रभावित क्षेत्रमा सवा दुई अर्ब मुआब्जा रकम वितरण गरिएको छ ।

आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । आयोजनाका प्रभावित क्षेत्रका लागि दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले जानकारी दिए ।

उनका अनुसार आयोजना प्रभावित क्षेत्रका ३१९ घरमध्ये २९८ घरधनीलाई मुआब्जा वितरण गरिसकिएको छ । भोटखोला गाउँपालिका-२, ४ र ५ वडा साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयवासीले मुआब्जा पाएका छन् ।

उत्तर-दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ भने राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ ।

जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड रुपैयाँ छ । सन् २०२४ को मध्यदेखि आयोजना निर्माण सुरु हुनेछ । काम सुरु भएको ६ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

पहुँचमार्ग निर्माण सुरु

आयोजनाको पहुँचमार्ग निर्माण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले २.०३ किलोमिटर सुरुङ मार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माण भारतीयको गायत्री जेभी र झापाको कनकाई सुरुंगा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेर काम अघि बढाएको छ ।

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमाफेदीसम्म पहुँचमार्ग निर्माण हुनेछ ।


क्लिकमान्डु