बजारबाट पैसा उठाउन राष्ट्र बैंक आक्रामक, एक सातामै तेस्रो पटक निक्षेप संकलन



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले एक सातामै बजारबाट ३५ अर्ब रुपैयाँ उठाएको छ । मंसिर ६ गते १० अर्ब उठाएको राष्ट्र बैंकले मंसिर १२ गते पनि १० अर्ब र मंसिर १४ गते १५ अर्ब उठाउन सूचना प्रकाशित गरेको हो ।

बोलकबोल विधिबाट कम ब्याजदर प्रस्ताव गर्ने बैंकबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्नेछ । राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर कम भए पनि एक सातामै तेस्रो पटक बजारबाट पैसा उठाउन लागेको हो ।

मंसिर ६ गते बोलकबोल विधिबाट २.१७ प्रतिशतदेखि १.९६ प्रतिशत ब्याज दिँदै ७ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गरेको थियो । राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ उठाउँदासमेत अन्तरबैंक ब्याजदर २ प्रतिशतभन्दा मुनि नै रहेपछि राष्ट्र बैंकले ७ दिन अवधिका थप २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

मंसिर ६ गते निक्षेप संकलनपछि पनि मंसिर १० गते अन्तर बैंक ब्याजदर १.९४ प्रतिशत थियो । पछिल्लो ३ महिनादेखि अन्तर बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा कम हुँदासमेत राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन नगर्दा आलोचना हुँदै आएको थियो ।

ब्याजदर करिडोरसम्बन्धी कार्यविधिअनुसार अन्तरबैंक ब्याजदर बैंक दरभन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नुपर्ने र निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर कम हुँदा निक्षेप संकलन गर्नुपर्छ ।


क्लिकमान्डु