एनआरएनएको स्वघोषित कार्यसमितिले भन्यो: अवैध समितिबाट सचिवालय दुरुपयोग



काठमाडौं । एनआरएनएको स्वघोषित कार्यसमितिले ११औं महाधिवेशनमा क्रममा प्रतिनिधि चयनदेखि मतदानसम्म धाँधली भएको विषयमा स्पष्ट जानकारी गराउँदै पनि सबै मौन देखिएको बताएको छ ।

स्वघोषित कार्यसमितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी धाँधलीका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रिपोर्ट पनि नपाएको र परराष्ट्र मन्त्रालयबाट पनि जवाफ नपाएको बताएको हो ।

स्वघोषित कार्यसमितिका अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माको टिमले पत्रकार सम्मेलन गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाण फेलापरेको बताएको छ ।

पत्रकार सम्मेलनमा धाँधलीको प्रमाण पाइएपछि काठमाडौँको सोल्टी होटलमा २० अक्टोबर २०२३ मा कुल आचार्य, रविना थापा र बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुई साताभित्र छानबिन गर्ने सहमति भएको स्मरण स्मरण गराइएको छ ।

‘तर उक्त सहमतिलाई कागजको खोस्टा बनाई रातारात शपथ लिने र आफैँलाई अध्यक्ष घोषणा गर्ने काम संघको विधान र स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको विश्वव्यापी मान्यता प्रतिकूल रहेकाले त्यस्तो कार्यप्रति हाम्रो घोर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संस्थालाई एकताबद्ध बनाउन पुनः निर्वाचन गराउनुको विकल्प छैन ।’

गत १९ अक्टोबर २०२३ मा अनलाइन माध्यमबाट गराइएको निर्वाचनमा गरिएको योजनाबद्ध धाँधली ढाकछोप गर्न कथित अन्तरराष्ट्रिय छानबिन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

११औं महाधिवेशनका लागि प्रतिनिधि चयनमै योजनाबद्ध रुपमा अनियमितता गरिएको कुरा पनि उठाउँदै आएको शर्माले बताएका छन् । एनसिसि रसिया, एनसिसि किर्गिस्थान,  दक्षिण अफ्रीका र नाइजेरियामा विधानविपरीत प्रतिनिधि चयन गरिएको जानकारी प्राप्त भएको उनको तर्क छ ।

अनलाइन प्रणालीबाट गराइएको निर्वाचनको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले गरेको अनुसन्धानको रिपोर्ट आधिकारिक रुपमा नपाएको विज्ञप्तिमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघमा एकपक्षीय ढंगले बद्री केसी समूहले सपथ खाएपछि विधानअनुसार हामीहरुले होटल हिमालयमा साधारणसभा सम्पन्न गरेर राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा कार्यसमिति गठन गरेको जानकारी गराइएको छ ।

‘संसारभरि रहेका लाखौं गैरआवासीय नेपालीको भावनासँग जोडिएको यस्तो महत्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूहविरुद्ध कडा कारबाही गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रुपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गर्ने काम मान्य छैन ।  त्यस्तो काम तुरुन्त बन्द गर्न पनि हामी माग गर्दछौं ।’

स्वघोषित कार्यसमितिले पेस गरेको अनलाइन निर्वाचनमा भएका त्रुटीका केही उदाहरण:

(क) उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट खसेको मत शून्य भएको । यस सम्बन्धमा पहिलो स्पष्टीकरणमा ग्लोबल र लोकल मत पत्रमा नाम फरक भएको भनिए पनि पछि मतपत्र चेक गर्दा नाममा फरक नभएको देखिएको । तर पछिको स्पष्टीकरणमा सिस्टम ब्याक इन्डमा इन्टिग्रेसन मिस्टेक भएको भनिएको । यो स्पष्टीकरणले सिस्टमप्रति नै झन् गम्भीर आशंका पैदा गरेको छ र ब्याक इन्ड इन्टिग्रेसनमा अन्य नाममा पनि गल्ती भएको हुन सक्ने ।

(ख) सिस्टमको फिचरअनुसार सबै पदाधिकारीको मत संख्या अनिवार्यबराबर हुनुपर्नेमा फरक-फरक भएको ।

(ग) नेपालमा आउने प्रतिनिधि अनिवार्य काठमाडौंको सोल्टी होटलको बुथबाट मतदान गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएकैले नेपालबाट खसेको मत र सोल्टी होटलबाट खसेको मत समान हुनुपर्नेमा फरक भएको ।

(घ) विधानको दफा २१:७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भएपछि निर्वाचनमा प्रभाव पार्नेगरी कुनै पनि निमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन निमावलीमा व्यापक परिवर्तन गरिएको ।

अनलाइन भोटिङको फेस भेकिफिकेसनको रिजोलुसनलाई निर्वाचनको केही घण्टापछि ९९ प्रतिशतबाट घटाएर ६५ प्रतिशत बनाउनुले निर्वाचनको स्वच्छतामा गम्भीर आशंका थपेको । फेस भेरिफिकेसनको रिजोलुसन ८० प्रतिशतभन्दा कम गरिनु भेस भेरिफिकेसनको अन्तर्राष्ट्रिय मापदण्डविपरीत भएको र निर्वाचनको बीचमै यसरी निर्वाचनको प्रक्रिया परिवर्तन गरिनु निर्वाचन नियमावलीको पनि उल्लंघन भएको ।

(ङ) सोल्टी होटलमा मतदान गर्नका लागि प्राप्त भएको युजर आईडी र पासवर्ड निर्नाचनमा खटिएका कर्मचारीबाट पुन: फिर्ता लिनुले उक्त पासवर्डको दुरुपयोग गरिएको हुन सक्ने आशंका ।

(च) नेपालमा आइसकेका केही प्रतिनिधिको नामबाट विदेशबाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वासनीयतामा गम्भीर आशंका पैदा गरेको ।

(छ) निर्वाचनमा नेपालको समय राति १२ बजेसम्म ‘जुम’ माध्यमबाट पनि मतदान गर्ने व्यवस्था गरिए पनि १२ बजेअगावै ‘जुम’ भित्र प्रवेश भइसकेका ५४ जना प्रतिनिधिलाई मतदानबाट वञ्चित गरिएको । कार्यकारी अध्यक्षले आफ्नो कार्यकारी अधिकार प्रयोग गरी १२ बजेसम्म आफ्ना प्रतिनिधिलाई ‘जुम’मार्फत मतदान गर्न लगाई ‘जुम’भित्र पसिसकेका बाँकी ५४ जना प्रतिनिधिलाई मतदानबाट वञ्चित गराइनु निर्वाचन नियमावली र निर्वाचनसम्बन्धी विश्वव्यापी मान्यता र परम्परा विपरीत ।


क्लिकमान्डु