जनवरीबाट बढ्दै मारुती, अडी र टाटाका गाडीको मूल्य



एजेन्सी । आगामी वर्ष २०२४ को सुरुवातबाटै भारतमा बन्ने प्रमुख गाडीहरुको मूल्यमा वृद्धि हुने भएको छ ।

२०२४ को जनवरीबाट भारतीय बजारमा यी गाडीको मूल्य बढाउने निर्णय प्रायः उत्पादक कम्पनीहरुले गरेका छन् । २७ नोमेम्बरमा मारुती सुजुकीले आफ्नो मूल्य बढाउने घोषणा गरेको थियो । त्यस्तै, टाटा मोटर्स र अडीले पनि आफ्ना गाडीहरुको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् ।

भारतीय सञ्चारमाध्यमकाअनुसार टाटा मोटर्सका प्रवक्ताले सोमबार आफ्ना पेसेन्जर गाडी तथा विद्युतीय गाडीहरुको मूल्य १ जनवरीबाट बढ्ने विषयमा विचार भइरहेको बताएका छन् ।

गाडीको मूल्य बढ्ने पक्का भए पनि कति बढ्ने भन्ने विषय भने केही सातामा घोषणा हुने उनले बताए । टाटा मोटर्सको उत्पादनमा सस्तो मूल्यमा टियागो कारदेखि स्पोर्टस् युटिलिटी भेइकल (एसयुभि) गाडीसम्म रहेका छन् ।

त्यस्तै, लक्जरी गाडीहरु बनाउने अडीले पनि आफ्ना गाडीहरुको मूल्य वृद्धि हुने घोषणा गरेको छ । भारतमा आफ्ना गाडीहरुको मूल्य अधिकतम २ प्रतिशतसम्म वृद्धि हुने अडीले जनाएको छ । कम्पनीले गाडीको निर्माण गर्दा लाग्ने इनपुट कस्ट र अपरेसन कस्टका कारण मूल्य वृद्धि भएको बताएको छ ।

त्यस्तै, मारुती सुकुकीले पनि गाडीको मूल्य तेस्रो बढाएको छ । जनवरी १ बाट लागु हुने गरि मारुतीले गाडीको मूल्य वृद्धि गराएको छ ।

भारतीय बजारमा यी गाडीहरुको मूल्यमा वृद्धि हुँदा यसले नेपाली बजारमा पनि गाडीहरुको मूल्य बढ्ने देखाउँछ । मुख्यतः गाडीहरुको आयात भारतबाटै हुने भएकाले त्यहाँ बन्ने गाडीहरु र त्यहाँको मूल्यले नेपाली बजारलाई पनि प्रभावित गर्ने देखिन्छ ।


क्लिकमान्डु