सेबोनले आईपीओ र हकप्रदमा ढिलाइ गरेपछि ऊर्जा उद्यमी गुनासो बोकेर प्रधानमन्त्रीकहाँ जाँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोक्ने तयारी गरेपछि जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेका कारण ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री कार्यलयदेखि अर्थमन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भइ धेरै कम्पनीहरुको धितोपत्र निष्कासन गरेकोमा त्यसको सरहाना गरेपनि यतिबेला भने बोर्ड खुला बजार नीति विपरित जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

कुनै कम्पनीबाट ऐन नियम विपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरिवेक्षण तथा छानबीन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधि प्रति ऊर्जा उद्यमीहरुले असन्तुष्टि जनाएका छन् ।

केही कम्पनीका संस्थापकहरुले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्काशन गर्न रोक्न नहुने र यसो गरेमा उर्जा क्षेत्र नै धरासायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ ।

धितोपत्र बोर्डबाट विगतमा सहज रुपमा सेयर निष्काशन भइरहेको र हाइड्रोपावर कम्पनीहरुले सहज रुपमा निष्काशन अनुमति पाएपछि यस क्षेत्र उत्साहित भई धेरै कम्पनीहरु निष्कानका लागि निवेदन दिन थालेका थिए । तर हाल सेयरको आपूर्ति बढी भएको भन्ने बहानामा सार्वजनिक तथा हकप्रद निष्काशनमा ढिलाई गरेकोमा उद्यमीहरुको आपत्ति छ ।

हाइड्रोपावर कम्पनीहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको अवस्थामा यसको योगदानलाई कदर गरी आवश्यकता अनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाले बताए ।

पुँजी बजारमा आउने सबै कम्पनीहरुलाई समान रुपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आईपीओ तथा हकप्रद शेयर निष्काशन गर्न रोक्न नहुने पनि उर्जा उद्यमीहरुको माग रहेको छ ।


क्लिकमान्डु