व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह, अरु को को ?



काठमाडौं । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा विजयकुमार शाह रहेका छन् । जावलाखेल डिस्ट्रिलरीका संस्थापक शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिको सूचीमा परेका हुन् ।

विगतका वर्षहरुमा झै यो वर्ष पनि आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थालाई कर दिवसको अवसरमा बिहीबार सम्मान गरेको हो ।

शाह संस्थापक रहेको जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजले रुस्लान भोड्का, गोल्डेन वक, कालापत्थर, बर्डबाइजरसहित डेढ दर्जन ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्ने गरेको छ ।

यसै गरी सूर्य नेपालले २ शीर्षकमा धेरै कर तिरेर सम्मान पाएको छ । विभागले आयोजना गरेको कार्यक्रममा धेरै कर दाखिला गर्ने १६ करदाता सम्मानित भएका छन् ।

धेरै आयकर तिर्नेतर्फ नेपाल दूरसचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । कर दिवसको अवसरमा धेरै निर्यात गर्नेमा डाबर नेपाल प्रालि सम्मानित भएका छ ।

विशेष उद्योगतर्फ धेरै कर दाखिला गर्ने एशियन पेन्ट्स परेको छ ।

बैंकतर्फ धेरै कर तिर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ भने कृषि फर्मतर्फ ओबिसी फिड एन्ड फिड्स प्रालि रहेको छ।

सहकारीतर्फ छिमेक लघुवित्त रहेको छ भने शिक्षातर्फ नोबेल शिक्षण अस्पताल सम्मानित भएको छ ।

बिमातर्फ सबैभन्दा बढी कर तिर्नेमा एलाआइसी नेपाल रहँदा पर्यटनतर्फ मनकामना केवकार सम्मानित भएको छ । बस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ  नेपाल स्टक एक्सचेन्ज सम्मानित भएको छ ।

उर्जातर्फ भोटेकोशी उर्जा कम्पनीले धेरै कर तिरेको छ । रेमिटेन्सतर्फ आइएमी रेमिटान्स कम्पनीका रहेको छ । कम्पनीबाट हेमराज ढकालले सम्मानित भएका छन् ।

राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन कार्यक्रममा सूर्य नेपालका रवि केसीले करको दरभन्दा पनि दायरा बढाउन सके राजस्वमा सहयोग पुग्ने बताए । उनले दरभन्दा दायरा बढाउन सुझाव दिए । ठूला कर दाताले सिंहदरबार प्रवेश गर्न नपाउने गरेको गुनासो गर्दै सिंहदरबार प्रवेश गर्ने पासको ब्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर कर्णले आजैबाट धेरै कर तिर्ने कर दातालाई सिंहदरबार प्रवेश गर्ने पास दिन आन्तरिक राजस्व विभागलाई निर्देशन दिए ।


क्लिकमान्डु