नेपाल आइपुगे १५ भारतीय मुर्रा राँगा, कहाँ कहाँ पठाइन्छ वीर्य उत्पादनका लागि ?



काठमाडौं । भारतले सहयोग अन्तर्गत घोषणा गरेको मुर्रा जातका राँगाहरु नेपाल आइपुगेको हो । बाँके जिल्लाको जमुनाहा नाका हुँदै १५ वटा राँगा बुधबार नेपाल भित्रिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भारत सरकारले नेपाललाई १५ वटा मुर्रा जातको राँगा सहयोगमा उपलब्ध गराउने घोषणा गरेको थियो। प्रधानमन्त्री प्रचण्ड गत जेठको अन्तिम साता भारत भ्रमण गरेका थिए ।

भारतबाट मुर्रा जातका राँगा ल्याउने प्रयास २०७३ सालदेखि नै भएपनि उक्त प्रयास यो बर्षमा सार्थकता पाएको छ । विभिन्न चरणको प्रक्रिया पुरा गरी उक्त राँगाहरु नेपाल आइपुगेको हो ।

पशु सेवा विभागका प्रवक्ता डा.चन्द्र ढकालका अनुसार नेपालगञ्ज आइपुगेको उक्त राँगाहरुको स्थानीय सीमा नाकामा रहेको पशु क्वारेन्टाइन कार्यालयमा स्वास्थ्य परीक्षण पश्चात् भित्र्याइएको हो ।

ढकालका अनुसार भारतबाट प्राप्त भएको मुर्रा राँगा नेपालको भैंसीको नस्ल सुधार र विकास कार्यमा प्रयोग गरिनेछ । उक्त राँगाबाट ३ बर्षपछि वार्षिक डेढ लाख मात्रा (डोज) वीर्य संकलन गरी कम्तिमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गराउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले योजना बनाएको छ ।

विभागका अनुसार नेपाल भित्र्याइएको राँगामध्ये ५ वटा राष्ट्रिय पशु प्रजनन कार्यालय लाहान, ७ वटा पोखरा र ३ वटा राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्जमा राखिनेछ ।

‘प्रजनन कार्यालयमा पुगेपछि केही समय प्रत्यक्ष निगरानीमा राखेर विभिन्न चरणको प्राविधिक अध्ययन र परीक्षणपश्चात् ति राँगाबाट वीर्य संकलन गर्ने काम सुरु गर्नेछौं,’ ढकालले भने,‘यसरी संकलन हुने वीर्यको सहयोगमा नेपालको भैंसीहरुलाई कृत्रिम गर्भाधान गराइने योजना छ ।’

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार मुर्रा राँगाको जमेको वीर्यको माग ५ बर्षमा दुई गुणा र १० बर्षमा करिब ५ गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गरी मुलुकको विभिन्न भागमा भैंसीको नश्ल सुधारमार्फत दूध र मासुको उत्पादन र उत्पादकत्व बृद्धि हुने सरकारले अपेक्षा गरेको छ ।

नेपालमा मुख्यतः दुई प्रकारको भैंसी पाइन्छ । रैथाने र आयातित उन्नत जातको भैंसी नेपालमा पाइन्छ । नेपालमा लिमे, पारकोटे र गड्डी जातको स्थानीय भैंसी र मुर्रा शुद्ध नश्ल र मुर्रा क्रस व्रीड भैंसीका प्रजातिहरु पाइन्छ ।

नेपालमा स्थानीय भैंसीको औषत उत्पादकत्व करिब ९ सय लिटर दूध प्रतिवेत छ । यस्तै मुर्रा क्रस व्रीड भैसीको औषत उत्पादकत्व करिब १ सय ५ सय लिटर दूध प्रतिवेत र शुद्ध नश्लका मुर्रा भैसीको औषत उत्पादकत्व करिब २ हजार ३ सय लिटर दूध प्रतिवेत छ ।

भारतमा विकास गरिएको उच्च क्षमतामा मुर्राको औषत उत्पादन ३ हजार लिटरभन्दा बढी छ । भारतबाट ल्याइएको मुर्रा जातको राँगाबाट उत्पादन भएको वीर्यको सहयोगमा भैंसीको औषत उत्पादन र दूधको उत्पादनमा उल्लेख्य बृद्धि गर्ने सरकारको योजना छ ।

विभागका अनुसार राष्ट्रिय कृषि गणनाअनुसार पछिल्लो समयमा नेपालमा २९ लाखको संख्यामा भैंसी छ । यसमध्ये उन्नत तथा वर्णशंकर भैंसी २६ प्रतिशतको हाराहारीमा छ ।

अहिले नेपालमा १४ लाख ६४ हजार मेट्रिक टन दूध भैंसीबाट र १ लाख ९४ हजार मेट्रिक टन मासु राँगा, पाडा तथा भैंसीबाट उत्पादन भइरहेको विभागले जनाएको छ ।

मुर्रा जातको राँगाबाट जन्मेका भैंसीको दूधमा ६ देखि ८ प्रतिशतसम्म चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशतभन्दा बढी चिल्लो पदार्थवाहेकको ठोस पदार्थ (एसएनएफ–सोलिड नट फ्याट) पाइन्छ ।


क्लिकमान्डु