अब भारतमै टेस्ला बन्ने, नेपालमा सस्तो होला ?



काठमाडौं । विश्वकै शीर्ष विद्युतीय गाडीका रुपमा रहेको टेस्लाको निर्माता कम्पनी टेस्ला इंकले भारतमा आफ्ना गाडीहरुको उत्पादन गर्न तयारी निष्कर्ष नजिक पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारत सरकारले टेस्ला इंकसँग भारतमा आफ्ना गाडीहरुको आयात गर्ने र आगामी दुई वर्षभित्रमा उत्पादन कारखाना पनि निर्माण गर्ने सम्झौता गर्न लागेको छ ।

इकोनोमिक्स टायम्स इण्डियाकाअनुसार भारत सरकार निकटका व्यक्तिहरुले आगामी जनवरीमा हुने भाइब्रेट गुजरात ग्लोबल समिटमा टेस्ला भारतमा आउने विषयलाई सार्वजनिक घोषणा गर्ने तयारी रहेको छ ।

टेस्ला कम्पनीले भने भारतीय प्रधानमन्त्रीको गृह राज्य गुजरातसँगै महाराष्ट्र र तामिनाडुमध्ये कुनै एक राज्यमा आफ्नो उद्योग स्थापना गर्ने पूर्वतयारी गरिरहेको छ । यी राज्यहरुमा विद्युतीय गाडीको बिक्री तथा निर्यातका लागि पनि राम्रो र स्थापित इकोसिस्टम भएका कारण यी राज्यहरुमा नै उद्योग स्थापना गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२ खर्ब ६८ अर्ब लगानीको तयारी

अन्तर्राष्ट्रिय बिजनेस पोट्रल ब्लुमबर्गको रिपोर्टअनुसार टेस्लाले भारतमा दुई अर्ब अमेरिकी डलर (दुई खर्ब ६८ अर्ब नेपाली रुपैयाँ) उत्पादन कारखाना निर्माणका लागि लगानी गर्ने प्रतिबद्धता गर्ने देखिएको छ । त्यस्तै, टेस्लाले भारतमै अटो पाट्र्सहरुमा १५ अर्ब अमेरिकी डलर (२० खर्ब ४ अर्ब ४५ करोड ७५ लाख नेपाली रुपैयाँ) लगानी गर्ने ब्लुमबर्गले जनाएको छ । यसअघि भने टेस्लाले भारतमा ब्याट्री स्टोरेज गर्ने ठाउँ बनाउने तयारी रहेको चर्चा चलेको थियो ।

भारतमा टेस्ला आउने विषयमा लामो समयदेखि प्रक्रिया चलिरहेको छ । आयातमा लाग्ने करमा छुट पाउने अपेक्षासहित टेस्लाले लामो समयदेखि भारतमा प्रवेश रोकिरहेको थियो । हाल भने कम्पनीले विश्वकै सबैभन्दा बढि जनसंख्या भएको देशमा प्रवेश गर्नका लागि सहुलियतको पक्षलाई नकुर्ने देखिएको छ ।

टेस्लाले भारतमा प्रवेश गरेसँगै केही सस्तो मूल्यमा पनि गाडीहरु निर्माण गर्ने चर्चा रहेको छ । ब्लुमबर्गकै रिपोर्टमा उल्लेख भएअनुसार टेस्लाले आफ्ना विद्युतीय गाडीहरुकै केही सस्तो भर्जन निर्माण गरेर २० हजार अमेरिकी डलर देखि २४ हजार अमेरिकी डलर मूल्यमा भारतीय बजारमा बिक्री गर्ने तयारी रहेको छ ।

हालसम्म आधिकारिकरुपमा घोषणा हुन बाँकी भएपनि टेस्लाको प्रवेश भारतमा निश्चित रहेको विभिन्न रिपोर्टमा भारतीय सरकारका स्रोतलाई उल्लेख गर्दै उदृत गरिएको छ । गत जुनमा टेस्लाका सीइओ तथा संस्थापक एलन मस्कले पनि टेस्लाले भारतमा राम्रो लगानी गर्ने तयारी रहेको र आफूले पनि सन् २०२४ मा भ्रमण गर्ने योजना रहेको बताएका थिए ।

हाल भारत सरकारले पनि आफूलाई विश्वभरमा नै उत्पादनको केन्द्रका रुपमा विकास गर्नतर्फ काम गरिरहेको छ । प्रविधिसम्बन्धि थुप्रै कम्पनीहरुको प्रवेश भइरहेको समयमा भारत सरकारले टेस्लालाई पनि भारत भित्र्याउनका लागि छलफल गरिरहेको देखिन्छ ।

हालसालै भारतको केन्द्र सरकारका वाणिज्यमन्त्री पियुष गोयलले अमेरिकाको क्यालिफोर्नियास्थित टेस्लाको उत्पादन कारखानाको भ्रमण गरेका थिए । उक्त भ्रमणपछि उनले टेस्लाले भारतबाट आयात गर्ने अटो पाट्र्सहरुको मात्रालाई बढाउने योजना रहेकोबारे बताएका थिए । गोयलले गत वर्ष बताएअनुसार टेस्लाले भारतबाट १ अर्ब अमेरिकी डलर बराबरको अटो पाट्र्सहरु लैजाने गरेको थियो । चालु वर्षमा त्यसलाई बढाएर १ अर्ब ९० करोड अमेरिकी डलर पुर्याएने तयारी रहेको गोयलले बताएका छन् ।

भारतमा टेस्ला बन्दा नेपालमा सस्तो पर्ला ?

भारतमा टेस्लाको प्रवेशसँगै त्यहाँको बजारमा उक्त गाडीको चर्चा हुने पक्का छ । सँगै कम्पनीले सस्तो मूल्यमा पनि भारतीय बजार केन्द्रित भएर मध्यम बर्गका लागि गाडीहरु उत्पादन गर्ने भनिएकाले सस्तो मूल्यमा टेस्ला कम्पनीका गाडीहरु भारतीय बजारमा उपलब्ध हुने देखिन्छ ।

हालसम्म विभिन्न अथक प्रयास भएपनि भारतको विद्युतीय गाडीहरुको बजार सानो छ । भारतमा गत वर्ष बिक्री भएका कुल गाडीहरुमध्ये १.३ प्रतिशत मात्रै विद्युतीय गाडीहरुको बिक्री भएको थियो । सुरुवातमा लगानी गर्नुपर्ने उच्च मूल्य र चार्जिङ स्टेसनको उपलब्धताजस्ता विभिनन समस्याका कारण भारतमा उपभोक्ता विद्युतीय गाडीतर्फ झुक्न सकेका छैनन् ।

तर, मोदी सरकारले भारतमा इभीको बजारलाई बढाउन र स्वच्छ सवारी साधनको प्रयोगलाई वृद्धि गराउन स्वदेशी उत्पादनलाई बढाउने प्रयास गरिरहेको छ । यस्तोमा भारत सरकारले टेस्लालाई भारतमा प्रवेश गराएर थप एक कदम चाल्न खोजेको देखिन्छ।

भारतमा टेस्लाको निर्माण हुँदा तथा आयात हुँदा त्यसले नेपालमा भने उक्त गाडीको मूल्य तथा अन्य पक्षमा खासै असर नगर्ने देखिन्छ । नेपालका लागि टेस्लाका गाडी बिक्री गरिरहेका राकेश अडुकियाका अनुसार भारतमा टेस्लाको प्रवेश हुनु र त्यहाँ गाडी बन्नुले नेपाली बजारमा उक्त गाडीको मूल्यमा कुनै फरक नपर्ने बताउँछन् ।

‘भारतमा बन्ने टेस्लाको सस्तो गाडी अहिलेको जस्तो हुँदैन,’ उनले क्लिकमान्डूसँग कुरा गर्दै भने, ‘सानो मोटरको गाडी हुन्छ । भारतका लागि त्यो चाहिन्छ पनि । तर, त्यसले नेपालमा फरक पार्दैन ।’

टेस्लाको भारतमा हुने प्रवेश विश्वको ठूलो जनसंख्या भएको देशमा व्यापार फैलाउनेसँगै चीनबाट आफ्नो उत्पादनलाई भारततर्फ प्रतिस्थापन गर्नका लागि पनि भएको बताउँछन् अडुकिया ।

उनी भन्छन्, ‘भारतमा टेस्लाको उपस्थिति चाहिनै लागि पनि हो । तर, स्थानीय ब्राण्डसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । नेपालमा भारतबाट नै टेस्ला आउने भएपनि त्यसले खासै फाइदा पुग्दैन ।’


क्लिकमान्डु