फोर्ड ब्राण्डको गाडी बेच्ने कम्पनीको व्यापार ४४ प्रतिशतले घट्यो, ८३ करोडको मात्रै कारोबार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको समेत स्वामित्व रहेको जिओ अटोमोबाइलको व्यापार ४४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा घटेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२३ मा ४४ प्रतिशतले घटेर ८३ करोड रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ४४ करोड २० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ६७ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ९३ करोड ९० लाख रुपौयँको व्यापार गरेको थियो । कम्पनीअनुसार पछिल्लो २ वर्षको अवधिमा कम्पनीको व्यापार ५० प्रतिशतभन्दा बढीले घटेको छ ।

फोर्ड ब्राण्डको गाडीका लागि नेपालको आधिकारिक बिक्रेता रहेको कम्पनीले गाडीको स्पेयर/एसोसरिज र फोर्ड ब्राण्डको गाडीको लागि सर्भिसको पनि सुविधा दिँदै आएको छ ।

कम्पनीको प्रबन्ध निर्देशक आकाश गोल्छा हुन् । कम्पनीमा आकाश गोल्छासँगै शेखर गोल्छा र लोकमान्य गोल्छाको स्वामित्व छ । उक्त कम्पनीमा शेखरको अत्यन्तै कम स्वामित्व छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ९२ करोड रुपैयाँको रेटिङ गराएको छ।

भारत सरकारले सन् २०२१ मा फोर्ड ब्राण्डको गाडीको उत्पादन बन्द गरेको थियो । बन्द हुनुअघि भारतबाट आयात गरी बिक्री वितरण गर्दै आएकोमा अहिले कम्पनीले थाइलायन्डबाट आयात गरी बिक्री वितरणलाई निरन्तरता दिइरहेको छ ।

यता भारतबाट भने कम्पनीले इकोस्पोर्ट, फिगो ब्राण्डको सवारी साधान आयात गरी बिक्री वितरण गर्दै आएको छ । तर, उक्त ब्राण्डको गाडीले फोर्डको स्थान लिन नसक्दा व्यापारमा उच्च प्रभाव परेको कम्पनीको भनाइ छ । कम्पनीले बजारमा तरलता अभाव र उच्च ब्याजदरले माग नहुँदा व्यापार कमी आएको जनाएको छ ।


क्लिकमान्डु