कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी, कैद सजायको माग



जनकपुरधाम । गणतान्त्रिक व्यवस्थाविरुद्धको अभियान चलाइरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

कात्तिक २८ गते जनकपुरधामस्थित एक कार्यक्रममा राजतन्त्रकालीन राष्ट्रिय गान बजाएको भन्दै प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको हो ।

‘हिन्दू सम्राट सेना धनुषा’ले आयोजना गरेको उक्त कार्यक्रममा राजतन्त्र पुन:स्थापनाको अभियान चलाइरहेका प्रसाईं अतिथि थिए । कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार ‘सयौं थुंगा फूलका हामी…’ को सट्टा ‘श्रीमान गम्भीर नेपाली…’ बजाइएको थियो भने उक्त भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो ।

लोकतान्त्रिक व्यवस्थामा राष्ट्रिय गानको अपमान गरेको भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् ।

कुनै पनि व्यक्तिलाई संविधान तथा कानून प्रतिकुल हुने काम गर्न छुट नदिएकोले उनीमाथि हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ’ उजुरीमा भनिएको छ ।


क्लिकमान्डु