क्रिकेट विश्वकप हेर्ने दर्शकको नयाँ रेकर्ड: यसपटक कतिले हेरे ?



एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार भएको १३ औं क्रिकेट विश्वकपमा १२ लाख ५० हजार (१.२५ मिलियन) दर्शक रंगशालामा उपस्थिति भएको बताएको छ ।

भारतमा भएको विश्वकप क्रिकेटमा रेकर्ड राख्ने गरि १२ लाख ५० हजार दर्शकको उपस्थिति भएको आईसीसीले जनाएको हो । अक्टोबर ५ देखि नोमेम्बर १९ सम्म भएको खेलमा आईसीसीले मंगलबार सूचनामा उल्लेख गरेअनुसार उक्त खेल हेर्नका लागि १२ लाख ५० हजार ३०७ दर्शकहरु उपस्थित थिए । यसअघि सन् २०१५ को विश्वकप क्रिकेटमा १० लाख १६ हजार दर्शकले खेल हेरेका थिए ।

आइसिसिकाअनुसार सुरुवातका खेलहरुमा दर्शकको खासै उपस्थिति नभएतापनि पछिल्ला खेलहरुमा भने दर्शकको राम्रो उपस्थिति भएको र कुल १२ लाखभन्दा धेरै दर्शकले प्रतियोगिता हेरेका थिए ।

आईसीसीका कार्यक्रमहरुका अध्यक्ष (हेडअफ इभेन्ट्स) क्रिस टेट्लेले भनेका छन्, दर्शकको यो संख्याको उपस्थितिले क्रिकेटप्रतिको उत्साह र एकदिवसिय खेलप्रतिको रुचिलाई देखाएको छ । यो प्रतियोगिता ठूलो सफलतामा पुगेर टुंगिएको छ । प्रतियोगिताले कैयौं प्रसारण र ओटिटि भ्युअर्ससिपको रेकर्ड पनि तोडेको छ ।

विश्वकप क्रिकेटको फाइनल गत आइतबार भारत र अष्ट्रेलियाबीच भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको थियो, जसमा अष्ट्रेलियाले भारतलाई पराजित गर्दै छैटौं पटक उपाधि हात पारेको थियो । फाइनल खेलमा रंगशालामा १ लाख ३० हजार दर्शक उपस्थित भएको बताइएको छ ।


क्लिकमान्डु