एयरलाइन्स बिजनेश मालामालः वार्षिक नाफा १३ खर्ब रुपैयाँ, भारत आक्रामक
काठमाडौं । भनिन्छ, यति तपाई अर्बपति हुनुहुन्छ तर, करोडपतिमा झर्न चाहनुहुन्छ भने एयरलाइन्स ब्यवसाय सुरु गर्नुहोस् । तर, यति हुँदा हुँदै पनि एयरलायन्स उद्योगले विश्वको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको छ ।
एयरलायन्स उद्योगले सन् २०२३ मा ९ अर्ब ८० करोड अमेरिकी डलर (१३ खर्ब रुपैयाँभन्दा धेरै) खुद नाफा कमाउने अनुमान गरेको छ । भारतको एक रेटिङ एजेन्सीले गरेको अध्ययनअनुसार विश्वमा रहेका एयरलायन्स उद्योगले सन् २०२३ मा ९ अर्ब ८० करोड अमेरिकी डलर खुद नाफा कमाउने प्रक्षेपण गरेको हो ।
एयरलायन्स क्षेत्रमा कोभिड-१९ र रुस-युक्रेनबीचको द्वन्द्वले उच्च प्रभाव पारेको थियो । कोभिडको समयमा विश्वभर उडानमा प्रतिबन्ध हुँदा अधिकांश एयरलायन्स कम्पनीहरुको व्यापारमा उच्च प्रभाव परेको थियो । कोभिडपछि विस्तारै तंग्रिँदै गएको विश्वको अर्थतन्त्रमा रुस-युक्रेनबीचको द्वन्द्वले पनि यस क्षेत्रमा असर पारेको थियो । रुस-युक्रेनबीचको द्वन्द्वले विश्वबजारमा एटीएफको मूल्य बढ्दा सञ्चालनको लागत बढ्न गई कम्पनीहरुको नाफामा प्रभाव परेको थियो ।
कोभिड र द्वन्द्वले अस्तव्यस्त बनाएको अर्थतन्त्र विस्तारै तंग्रिँदै जाँदा अहिले एयरलायन्स उद्योग कोभिड अघिकै अवस्थामा पुगेको अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघले गत जुनमा सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा दोब्बर नाफा कमाउने प्रक्षेपण गरेको थियो । सन् २०२२ मा विश्वका हवाई कम्पनीहरुले ४ अर्ब ७० करोड अमेरिकी डलर नाफा कमाएको थियो ।
त्यस्तै, सन् २०२३ मा सञ्चालन नाफा २२ अर्ब ४० करोड अमेरिकी डलर हुने अनुमान गरेको छ। जसमा डिसेम्बरमा मात्रै ३ अर्ब २० करोड अमेरिकी डलर सञ्चालन नाफा कमाउने अध्ययनमा उल्लेख छ । साथै, सन् २०२३ मा ४ अर्ब ३५ करोड मानिसले हवाई यात्रा गर्ने अनुमान गरेको छ।
विश्वको हवाई उडान पर्यटन र वैदेशिक व्यापारमा निर्भर छ । विश्वको सबैभन्दा छिटो विकास भएको एयरलायन्स क्षेत्रको अर्थतन्त्रमा ठूलो योगदान छ भने रोजगारी र अन्तर्राष्ट्रिय व्यापार र पर्यटनमा सहज बनाएको छ ।
कोभिड र रुस-युक्रेनले अस्तव्यस्त बनेको अर्थतन्त्रमा मानिसको चहलपहल बढ्दा आम्दानीमा उच्च प्रभाव परेको छ । त्यस्तै, भारतको अर्थतन्त्रको तेस्रो ठूलो क्षेत्र रहेको एयरलायन्स उद्योगको कोभिडपछि आम्दानी बढ्दै गएको पाइन्छ । भारतको एजेन्सीले गरेको अध्ययनअनुसार भारतले हवाई क्षेत्रलाई तीब्र गतिमा विकास गर्दै विभिन्न मुलुकमा उडान थप्ने तयारी गरेको छ ।
भारतमा करिब दर्जन हाराहारीमा एयरलायन्स कम्पनी छन् । त्यसमध्ये आधाभन्दा बढी हिस्सा एउटै एयरलायन्स कम्पनीको छ। भारतको सबैभन्दा ठूलो उद्योगमा रुपमा स्थापित इन्डिगो कम्पनीको मात्रै आन्तरिक उडानमा ६३.४ प्रतिशत छ । गत जुनसम्ममा कम्पनीको आन्तरिक उडानमा ६० प्रतिशत हिस्सा रहेको उल्लेख छ । मेसम्ममा इन्डिगोको बजार हिस्सा ६१.४ प्रतिशत थियो । इन्डिगोपछि एयर इन्डियाको ९.९ प्रतिशत, भिस्ताराको ८.४ प्रतिशत र एयर एसियाको ७.५ प्रतिशत छ । त्यस्तै, आकासा एयरको ५.२ प्रतिशत, स्पाइस जेटको ४.२ प्रतिशत, एलायन्स एयरको १ प्रतिशत, फ्लाई बिगको ०.२ प्रतिशत, स्टार एयर ०.२ प्रतिशत बजार हिस्सा छ ।
इन्डिगोले हाल ७४ वटा आन्तरिक र २६ वटा अन्तर्राष्ट्रिय उडान भर्छन् । एयरलायन्सले दैनिक १६ सय फ्लाईट उडान गर्दै आएको छ । जसमा भारतको १६ वटा विमानस्थलबाट दैनिक १५० वटा अन्तर्राष्ट्रिय फ्लाइट हुने गरेको छ । एयरलायन्सले विश्वमा आफ्नो सञ्जाल विस्तार गर्नका लागि सन् २०२२ को सेप्टेम्बरमा विश्वका विभिन्न ७ मुलुकको हवाई कम्पनीसँग उडानको लागि सम्झौता गरेको छ । कम्पनीले भर्जिन एथलान्टिक (टर्किस एयरलायन्स, कतार एयरवेज, एयर फ्रान्स, केएलएम, क्वान्टस र अमेरिकन एयरलायन्स)सँग सम्झौता गरेको छ ।
इन्डिगो र भर्जिन एटलान्टिकले भारतबाट अमेरिका र बेलायतमा यात्रुहरुको उडान भर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरुलाई अझ बढी व्यापार र मनोरञ्जन गन्तव्यहरुको आनन्द लिन मद्दत पुग्ने जनाएको छ । साथै, कम्पनीले आगामी दिनमा आफ्नो सञ्जाल बढाउँदै नयाँ-नयाँ गन्तव्यको उडान भर्ने जनाएको छ ।
भिस्ताराले पनि भारतीय बजारको आन्तरिक उडानमा ९.८ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि आन्तरिक उडानमा अकासा एयरले ४.२ प्रतिशत ओगटेको छ । अकासा एयरको बजार हिस्सा भने गुम्दै गएको दखिन्छ । कम्पनीको जुलाईमा ५.२ प्रतिशत बजार हिस्सा थियो । त्यस्तै,एयर इन्डियाको बजार हिस्सा ९.८ प्रतिशत रहेकोमा अहिले ७.१ प्रतिशत रहेको छ ।
भारतीय एयरलायन्स कम्पनीहरुले सन् २०२३ को जनवरीदेखि जुनसम्ममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमार्फत् १३ करोड ३३ लाख ४२ हजार यात्रुले यात्रा गरेका छन् । त्यसमा ७ करोड ६० लाख ९३ हजार यात्रुहरुले आन्तरिक उडान भरेका छन् । सन् २०२२ को सोही अवधिमा ५ करोड ७२ लाख ४९ हजार जना यात्रुले हवाईजहाजमार्फत् यात्रा गरेका थिए ।
साथै, सन् २०२३ मा ३२ करोड ७२ लाख जना यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरेका छन् । सन् २०२२ को सोही अवधिमा १८ करोड ८८ लाख जना यात्रुले उडान गरेका थिए । जसमा सन् २०२२ को तुलनामा सन् २०२३ मा १३ करोड ८३ लाख जना बढी यात्रुले अन्तर्राष्ट्रिय उडान गरेका छन् ।
विश्वव्यापी रुपमा भारतीय आन्तरिक उडड्यान बजार तेस्रो ठूलो रहेको छ । सन् २०२४ सम्ममा भारतको बेलायतलाई तेस्रो ठूलो हवाई यात्री बजार बन्ने अपेक्षा गरेको छ । भारतको सन् २०१६ देखि २०२३ सम्मको तथ्याङ्क हेर्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा यात्रुहरुको ट्राफिक वार्षिक वृद्धिदर ६.९५ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सामग्री ढुवानीको भाडामा पनि वृद्धि भएको छ । सन् २०१६ देखि २०२३ सम्मको अवधिमा २.७० मेट्रिक टन देखि ३.१५ मेट्रिक टनसम्मको सामग्रीको भाडामा वार्षिक वृद्धिदर २० प्रतिशत रहेको छ । भारतले गरेको वैदेशिक व्यापार गरेकोमध्ये ३० प्रतिशत हवाईमार्फत् हुने गर्छ।