५ मन्त्रीसहित राष्ट्र बैंकका गभर्नरसँग अर्थतन्त्रको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा उच्चपदस्त अधिकारीहरुसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा अर्थमन्त्री, गृहमन्त्री, भौतिक पूर्वाधारमन्त्री, शहरी विकास मन्त्री, उद्योग मन्त्रीसहित राष्ट्र बैंकका गभर्नर, मुख्य सचिव, अर्थ सचिव लगायतका अधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् ।
अर्थतन्त्रको वर्तमान अवस्था र सरकारले लिनु पर्ने नीतिका विषयमा धारणा बनाउन प्रधानमन्त्रीले उच्च स्तरीय छलफल गर्न चाहेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘विकासे मन्त्रायलले पुँजीगत खर्च नगर्दा बजारमा माग बढ्न नसकेको गुनासो आएको छ,’अर्थ मन्त्रालयका एक अधिकारीले भने,‘पुँजीगत खर्च बढ्न नसक्नुको कारण के हो ? सरकारले कस्तो निर्णय गर्दा अर्थतन्त्र सुधार हुन सक्छ भन्ने विषयमा बैठकमा छलफल हुने तय भएको छ ।’
बैठकमा अर्थतन्त्रको पछिल्लो अवस्थामा विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बिफ्रिङ गर्ने तय भएको छ ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पछिल्लो अवस्थाका विषयमा निजी क्षेत्रसँग छलफल गर्नुभन्दा अगाडि सरकारी निकायसँग छलफल गर्न चाहेको अर्थमन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।