बानेश्वरमा माओवादी नेता बर्तोलामाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
असोज २२ गते काठमाडौंको बानेश्वरस्थित आई प्लेक्स मल नजिक माओवादी केन्द्रका बाग्मती प्रदेश कमिटी सदस्यसमेत रहेका अखिल नेपाल खेलकुद महासंघको उपाध्यक्ष तथा नेपाल उसु महासंघका केन्द्रीय अध्यक्ष बर्तौलामाथ आक्रमण भएको थियो । दुई जनाले गरेको धारिलो हतियार प्रहारबाट बर्तौला घाइते भएका थिए ।
आक्रमणकारीहरु सीमावर्ती क्षेत्रमा लुकीछिपी बसेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले स्थानीय प्रहरीको समेत सहयोगमा पशुपतिनगरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बाँकेस्थित कोहलपुर-१० चटार बस्ने शेरबहादुर थारु, झापा मेची-८ का कैलास भन्ने टेक बहादुर प्रधान र बाँकेस्थित कोहलपुर नपा-१ का आशिष लामिछने मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले ३ महिना अघि देखिनै बर्तौलाको गतिविधि हेरिरेहका थिए ।
अभियुक्त शेरबहादुर र आशिष लामिछाने मगरले आक्रमण गर्नको निमित्त घटनाको मिति र स्थानमा पुगी आक्रमण गरेका थिए भने शेरबहादुरले पछाडिबाट ३ पटक खुकुरीले प्रहार गरेको प्रहरीले जनाएको छ ।
आक्रमणपछि दुवै फरक फरक दिशातर्फ भागेका थिए । भागेका मध्ये शेरबहादुर अलिकति अगाडि पुगेपछि एक घरको कम्पाउण्डभित्र पसि घटनाको समयमा लगाएका सम्पूर्ण कपडा, जुत्ता र खुकुरी भएको झोला समेत छाडि नयाँ कपडा लगाई भागेका थिए ।
प्रहरीको निगरानीबाट बच्नका लागि उनीहरु बानेश्वरबाट पैदल हिँडेर नयाँबसपार्क पुगेका थिए । बसपार्कबाट झापा हुँदै उनीहरु इलामतर्फ लागेको प्रहरीले जनाएको छ ।
आरोपी टेकबहादुर प्रधानले अभियुक्तद्वय आशिष र शेरबहादुरलाई सुरक्षित गन्तव्यतर्फ लैजान योजनाकारहरुबाट रकम लिएको खुल्न आएको प्रहरीको भनाइ छ । बर्तौलामाथि आक्रमणका लागि एक होटलमा बसेर उनीहरुले योजना बनाएका थिए ।
पक्राउ परेका ३ जना यस घटना पहिला समेत पटक पटक चोरी तथा डाँका, हातहतियार खरखजाना, लागु औषध र ज्यान सम्बन्धी उधोग जस्ता अपराधिक गतिविधिमा संलग्न भई सजाय समेत भुक्तान गरेको अभिलेखबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ३ जनामाथि जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग कसुरमा दिन १० म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।