बढ्न सकेन घरजग्गा कारोबार, कात्तिकमा २६ हजार मात्रै किनबेच



काठमाडौं । सरकारले घरजग्गा कारोबारमा सहज वातावरण सिर्जना गरेपनि सुधार भने हुन सकेको छैन । गत साउनमा सरकारले कित्ताकाट खुल्ला गरेर सहज बनाएपनि कारोबार बढ्न नसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।

देशभर उच्च कित्ताकाट भएको भन्दै सरकारले गत वर्ष भुउपयोग नियमावली जारी गरेर कडाइ गरेको थियो । जसका कारण देशभर जग्गाको कारोबारमा उच्च प्रभाव परेको थियो । तर कित्ताकाटका कारण कारोबारमा असर परेको भन्दै सरकारले कित्ताकाट फुकुवा गरेपनि कारोबार भने बढ्न नसकेको भूमि व्यवस्थापन तथा अभिलख विभागको तथ्याङ्कले देखाउँछ ।

गत वर्ष कित्ताकाट कडाई गरेको अवधिमा पनि देशभर कात्तिक महिनामा २८ हजार घरजग्गा किनबेच भएको थियो । तर, यो वर्ष कित्ताकाट सहज बनाउँदा पनि कात्तिकमा करिब २ हजार कम घरजग्गा किनबेच भएको छ । विभागको तथ्याङ्कअनुसार कात्तिक महिनामा २६ हजार २६ वटा घरजग्गा मात्रै किनबेच भएको छ । जुन यो वर्षको हालसम्मकै कम किनबेच भएको तथ्याङ्क हो । सरकारले कित्ताकाट खोलेपछि घरजग्गा कारोबार बढ्न सक्ने अपेक्षा भएपनि यस वर्ष कात्तिकमा दसै तथा तिहारजस्ता चाडपर्वका कारण लामो बिदा भएकोले कारोबार घट्न गएको हुनसक्ने विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी विष्णुकुमार महतले कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले चाडपर्वका कारण सेवा प्रवाह हुन नसक्दा कारोबार कम देखिएको बताए । उनकाअनुसार पछिल्ला दिनहरुमा कार्यालयहरुमा मानिसको भीड बढ्दै गएको अवस्थामा चाडपर्वले गर्दा कम कारोबार देखिएको हो ।

गत असोज महिनामा देशभरका मालपोत कार्यालयबाट ३९ हजार ७९३ वटा घरजग्गा किनबेच भएको थियो भने भदौ महिनामा ३५ हजार ६८६ वटा घरजग्गा किनबेच भएको थियो । उक्त तथ्याङ्क हेर्दा कात्तिक महिनामा कारोबार निकै कम भएको स्पष्ट देखिन्छ ।

विभागकाअनुसार कात्तिक महिनामा देशभर २६ हजार घरजग्गा किनबेच हुँदा १८ हजार ५९३ वटा घरजग्गा रोक्का भएको छ भने १५ हजार २५९ वटा घरजग्गा फुकुवा भएको छ । साथै, सोही अवधिमा देशभर २२ वटा अपार्टमेन्ट किनबेच भएको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण अहिले बजार अस्तव्यस्त बनेको छ । जसले गर्दा मानिसहरुले घरजग्गा क्षेत्रमा लगानी गर्नका लागि डराइरहेको घरजग्गा व्यवसायीहरुको भनाइ छ ।

अहिले देशको अर्थतन्त्रको सूचकहरु सुधार हुँदै गएकाले कन्फिडेन्स बढाउनुपर्ने व्यवसायीहरुको जोड छ । साथै, व्यवसायीहरुले मंसिरदेखि कारोबार बढ्ने अपेक्षा गरेका छन् ।

राजस्व संकलनमा उच्च प्रभाव

कात्तिक महिनामा कारोबार कम भएसँगै राजस्व संकलनमा उच्च प्रभाव परेको छ ।

विभागको तथ्याङ्कअनुसार कात्तिक महिनामा २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । विभागले कात्तिकमा २० करोड १५ लाख रुपैयाँ सेवा करवापत उठाएको छ । त्यसैगरी, १ अर्ब ३७ करोड ८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर, ७७ करोड ९ लाख रुपैयाँ पूँजीगत लाभकर र अन्य विभिन्न सेवावापत गरी २ अर्ब बढी राजस्व संकलन गरेको छ । साथै, सोही अवधिमा विभागले २० करोड २२ लाख रुपैयाँ विभिन्न सेवा छुट दिएको छ ।

कात्तिकमा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयबाट राजस्व संकलन गरेको छ । लगनखेल मालपोत कार्यालयले कात्तिकमा १८ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १५ लाख रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १४ करोड २६ लाख रुपैयाँ, चावहिल मालपोतबाट १३ करोड १८ लाख रुपैयाँ र कलंकी मालपोत कार्यालयबाट १२ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, कात्तिक महिनामा ३० हजार ३८७ जग्गा कित्ताकाट भई ७० हजार ११६ कित्ता कायम भएको छ ।


क्लिकमान्डु