कफीको समर्थन मूल्य तोकियो, साढे ३२ करोडको आयात हुँदा १३ करोडको निकासी



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

निर्धारण गरिएको मूल्य शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको हो । सरकारले निर्धारण गरेको यो मूल्यमा किसानबाट उद्योगी व्यवसायीले र सर्वसाधारणले कफी किन्न पाउनेछन् । सरकारले वर्षेनी मंसिर १ गते कफीको न्यूनतम समर्थन मूल्य तोकेर राष्ट्रिय कफी दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चालु आर्थिक वर्षको लागि तीन प्रकारको कफीको न्यूनतम मूल्य निर्धारण गरिएको हो । जसअनुसार ए ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यस्तै बी ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ । यसैगरी पार्चमेन्ट कफीतर्फ ए ग्रेडको कफीलाई ५ सय रुपैयाँ र बी ग्रेडको कफीलाई ४ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यस्तै ड्राई चेरी कफीतर्फ ए ग्रेडको कफीलाई प्रतिकिलो २ सय र बी ग्रेडको कफीलार्य १ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

८ सय मिटरभन्दा माथिको उचाईमा प्राङ्गारिक प्रणालीअनुसार उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरीलाई ए ग्रेडको फ्रेस चेरी कफी भनिएको हो ।

यस्तै ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफीलाई पार्चमेन्ट ए ग्रेडको कफी भनिन्छ ।

त्यसैगरी ग्रेड ए फ्रेस चेरीबाट उत्पादन भएको ड्राई चेरीलाई ए ग्रेडको ड्राई चेरी ए ग्रेडको कफी भनिएको हो । नेपालमा उत्पादन हुने कफी विश्वको उत्कृष्ट कफीमध्ये एक मानिएको छ ।

यस्तो छ, आयात निर्यातको अवस्था

गत आर्थिक वर्ष २०७९/८० मा १३ करोड ४ लाख मूल्य बराबरको ७७.८९ मेट्रिक टन कफी नेपालबाट निर्यात हुँदा ३२ करोड ५८ लाख मूल्य बराबरको ४५० मेट्रिक टन कफी आयात भएको थियो । यो वर्ष नेपालमा ३९४.४ मेट्रिक टन ग्रीन वीन कफी उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ७६ लाख मूल्यबराबरको २७९.८ मेट्रिक टन कफी आयात हुँदा ११ करोड ७० लाख मूल्यबराबरको ६९.५ मेट्रिक टन कफी निर्यात भएको थियो ।

नेपालमा कफीको इतिहास

बोर्डका प्रवक्ता डा. दीपक खनालका अनुसार विक्रम सम्वत् १९९५ मा गुल्मीका हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि नेपालमा कफी खेतीको विस्तार भएको हो ।

२०२० तिर सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि कफी खेतीले बिस्तारै गति लिन थालेको बोर्डले जनाएको छ । यसै क्रममा आर्थिक वर्ष २०४०/४१ मा रूपन्देहीको मनिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो ।

किसानले उत्पादन गरेको सुक्खा कफी यो कम्पनीले खरिद गरी आन्तरिक बजारको लागि प्रशोधन गर्ने काम गरेको थियो । २०४८ सालमा नेपाल कफी उत्पादक सङ्घको स्थापनाले कफी उत्पादकहरूलाई सङ्गठित हुन सहयोग गर्नुका साथै उत्पादन क्षेत्र बृद्धि गर्न सहयोग गरेको थियो ।

अहिले गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ्ग, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बाग्लुङ लगायतका ४० जिल्लामा कफीको व्यवसायिक रुपमा खेती हुँदै आएको छ ।


क्लिकमान्डु