पुस्तौंदेखि माटाका भाँडाले धानिएको जीवन, व्यापार खस्किएपछि थपियो चिन्ता



बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१३ बुलबुलियास्थित मसानघाट टोलका मोहमद अमिनले माटाका भाँडा बनाउन थालेको ४४ वर्ष बित्यो । उमेरले ५० नाघेका अमिनले बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेका हुन् ।

आठ वर्षको उमेरदेखि नै बाजेसँगै जानी-नजानी माटो मुछ्न थालेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिके । त्यसैले माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसियो ।

‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले माटोसँगको मेरो सम्बन्धलाई नङ र मासुको सम्बन्ध भन्न रुचाउँछु,’ अमिनले भने ।

बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर उनलाई पनि माटोकै भाँडा बनाउन रुचि जाग्यो । ‘जे सिकायो त्यही सिक्ने त हो । मेरा बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो, आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु,’ उनले भने, ‘बाजेको पालादेखि यही गर्दै आएकले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।’

अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा १५-१६ हजार रुपैयाँसम्म नाफा भएको भाँडाबाट यस वर्ष जम्मा ५-६ हजारमात्र आम्दानी भयो । ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिएला ?’ निराश हुँदै उनले भने ।

अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीनवटा घोडा पालेका छन् । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेका छन् ।

‘सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ,’ उनले भने, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।’

अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले ६ जनाको परिवार धान्दै आएका छन् । कसगरले भाँडा बनाउन सासूबाट सिकेका हुन् । नेपालगन्ज उपमहागनरपालिका-५ स्थित मसानघाट टोलकी उनले आफूसँगै दुई छोरीलाई पनि माटोका भाँडा बनाउन सिकाएकी छन् ।

पुर्ख्यौली पेसा जोगाउन भाँडा बनाएर बेच्ने गरेको सुफिया बताउँछिन् । भाँडाबाट हुने आम्दानी र नाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ । गत वर्षको दसैँतिहारमा १३ हजारको भाँडा बेचेकी सुफियाले यसपटक १० हजारको मात्र बेचिन् । ५ हजारमात्र नाफा कमाइन् ।

अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ, परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले पनि सताउन थालेको छ ।

‘हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ,’ उनले भनिन्, ‘आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।’

मसानघाट टोलमा माटोका भाँडा बनाएर जीविकोपार्जन गर्ने  २१ परिवार कसगर छन् । पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड-१९ पछि ओरोला लाग्दै गएको कसगरहरूको भनाइ छ ।

माटोका भाँडा बनाउन उनीहरु बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउँछन् । एक ट्रली माटोको मूल्य चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि मूल्य बढेर साढे चार हजार तिर्नुपरेको छ । माटो बिक्री गर्ने साहुले मूल्य बढाएका हुन् ।

अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि सात जना परिवारको साँझ-बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले चार दशक नाघिसकेका पप्पुको चार पुस्ताले यो पेसालाई अँगाल्दै आएको छ । पप्पुको सात जनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्छन् । तर, माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउँछन् ।

दुईदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् ।

माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउन मिल्दैन । त्यो चार महिनामा मात्रै उनीहरू दैनिक रूपमा ज्याला-मजदुरीको काम गरेर साँझ-बिहानको छाकको जोहो गर्ने गर्छन् ।


क्लिकमान्डु