औसतमा बर्सेनि १ अर्बको काजु भित्रिन्छ, गत वर्ष भने आयातमा भारी गिरावट, यस्ता छन् खानुका फाइदा



काठमाडौं । ड्राइफ्रुट्सको राजा मानिने काजु नियमित सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तर, महँगो हुने भएकाले नियमित खान भने धेरैका लागि पहुँच नपुग्न सक्छ ।

काजु मुख्यतः तिहारमा भाइमसलाका रुपमा बढी प्रयोग गरिन्छ । तर खिर, पुलाउलगायतका कतिपय खानेकुरा बनाउँदा अनिवार्यजसो प्रयोग गरिने काजुको माग हरेक वर्षजसो बढ्दै गएको छ ।

नेपालमा गत वर्ष भने काजु आयातमा भारी गिरावट आएको छ । विगत वर्षहरुमा औसत १ वर्षको काजु आयात भइरहेकोमा गत वर्ष भने आधा अर्बबराबरको मात्र आयात भएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा भारत, बेनिन, मोजाम्बिक, नाइजेरिया, भियतनामलगायतका देशबाट ७८ करोड ३९ लाख ५७ हजार रुपैयाँबराबरको ९ लाख १७ हजार ६३७ किलो काजु आयात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ मा ८७ करोड १५ लाख ९ हजार रुपैयाँबराबरको १० लाख ४९ हजार ८७४ किलो काजु आयात भएको थियो । त्यसको अर्को वर्ष १ अर्ब १७ करोड २३ लाख १९ हजार रुपैयाँबराबरको १४ लाख ३१ हजार ४९० किलो काजु आयात भयो ।

त्यस्तै आव २०७८/७९ मा पनि त्यत्ति नै परिमाणमा काजु भित्रियो । त्यस वर्ष १ अर्ब १७ करोड १५ लाख ७९ हजार रुपैयाँबराबरको १४ लाख ३४ हजार २१० किलो काजु आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष भने काजु आयातमा भारी गिरावट आयो । आव २०७९/८० मा ५६ करोड ७ लाख ४१ हजार रुपैयाँबराबरको ८ लाख ५७ हजार ६२७ किलो काजु आयात भयो ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्ममा भारत, नाइजेरिया, मोजाम्बिक र भियतनामबाट १३ करोड ९० लाख ८१ हजार रुपैयाँबराबरको २ लाख २ हजार २८० किलो काजु आयात भएको छ । गत आवको सोही अवधिमा ३१ करोड १३ लाख ७२ हजार रुपैयाँबराबरको ४ लाख ३७ हजार २३९ किलो काजु आयात भएको थियो ।

काजु खानुका फाइदा

काजुलाई ड्राइफ्रुट्सको राजा मानिन्छ । काजु जति स्वादिलो हुन्छ, त्यत्तिकै स्वास्थ्यवर्धक पनि । अध्ययनअनुसार काजुमा म्याग्नेसियम, कपर, आयरन, पोटासियमलगायतका तत्व प्रशस्त पाइन्छन् । हरेक दिन काजु खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

काजुमा प्रशस्त आइरन पाइने हुँदा यसले शरीरमा रगतको कमी पूरा गर्छ । एन्टी ब्याक्टेरियल तत्व हुने भएकाले छालालाई सुन्दर बनाइराख्न सहयोग पुग्छ । फस्फोरसको मात्रा यथेष्ट हुने भएकाले नियमित काजु खाँदा दाँत मजबुत बन्छ ।

काजुमा सोडियमको मात्रा कम तथा पोटासियमको मात्रा ज्यादै हुने हुँदा उच्च रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत पुग्छ ।

काजुमा सेलेनियम तथा भिटामिन बी । इ भरपुर मात्रामा पाइन्छ । पाचन शक्ति बढाउन र क्यान्सरको जोखिम घटाउन काजुको सेवन उपयुक्त मानिन्छ । काजुमा जिङ्क तत्व पनि हुने हुँदा यसले इन्फेक्सनबाट शरीरलाई बचाउँछ ।

काजु नियमित खानाले कपाल झर्ने समस्या पनि कम हुने बताइन्छ । खाली पेटमा काजु र मह खानाले स्मरण शक्ति बढाउन मद्दत पुग्छ ।


क्लिकमान्डु