विदेशी मुद्राको सञ्चिति १२ अर्ब ३३ करोड डलर पुग्यो, शोधानान्तर स्थित करिब १ खर्ब रुपैयाँले बचतमा



काठमाडौं । विदेशी मुद्राको सञ्चिति १२ अर्ब ३३ करोड अमेरिकी डलर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्थाको तथ्यांक अनुसार ३ महिनाको अवधिमा विदेशी मुद्राको सञ्चिति ५. ३ प्रतिशतले बढेको हो । विदेशी मुद्राको सञ्चितिले १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने छ ।

गत असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड डलर रहेको थियो ।

रेमिट्यान्स आप्रवाहमा भएको उत्साहजनक वृद्धि पर्यटन आयमा भएको वृद्धिका साथै आयातमा आएको सुस्तताले विदेशी मुद्राको सञ्चिति बढेको हो ।

असोज महिनामा रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा बाहिरिने भन्दा भित्रिने विदेशी मुद्रा ९९ अर्ब ७ करोड रुपैयाँले बढी छ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा भित्रिने क्रम बढ्दा शोधानान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा गएको हो ।

शोधानान्तर स्थिति बचतमा जानुका साथै चालु आर्थिक वर्षको तीन महिनामा चालु खाताको बचतसमेत बढेको छ । राष्ट्र बैंकका अनुसार साउन मसान्तमा १२ अर्ब ९९ करोडले बचतमा रहेको चालु खाता असोज मसान्तमा ५९ अर्ब ९ करोडले बचतमा छ । गत वर्ष असोज मसान्तमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा थियो ।

पछिल्लो समय अर्थतन्त्रको वाह्य क्षेत्रमा निरन्तर सुधार हुँदै आए पनि सरकारी वित्त स्थिति भने कठिन अवस्थामा छ । वाह्य क्षेत्र कमजोर भएपछि २०७८ पुसदेखि लिइएको कसिलो मौद्रिक नीतिबाट राष्ट्र बैंक क्रमश: फिर्ता हुँदा समेत आन्तरिक अर्थतन्त्र चलायमान बन्न सकेको छैन ।

चालु आर्थिक वर्षमा २०७८ साल भन्दा न्यून आयात हुँदा सरकारले लक्ष्यभन्दा निकै कम राजस्व उठाइरहेको छ । जसले गर्दा सार्वजनिक वित्त व्यवस्थापनका लागि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै सरकारले १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ ।


क्लिकमान्डु