मखमली मालाको मूल्य गत वर्षभन्दा सस्तो



काठमाडौं । मखमली फूलको मालाको माग अत्याधिक भए पनि मूल्य नपाएको किसानहरुको गुनासो छ । भक्तपुरको गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् । यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ ।

एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरुले बताए । गुण्डुका व्यवसायीहरुले भाईटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् ।

भ‍क्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन् । उनले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गरिन् । व्यापार राम्रो भए पनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको उनको भनाइ छ ।

मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको उनको भनाइ छ । मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको उनी बताउँछिन् । आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी गर्न सकिने उनले बताइन् ।

‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाउन सकिएको छैन । मेहनत भएअनुसार मखमलीको मालाको मूल्य अलिबढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन,’ उनले भनिन्, ‘ व्यापार राम्रो छ तर गत वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएपनि यो वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी पाउन सकिएको छैन । मखमली मालाको मूल्य बढ्न सकेको छैन । मालाको माग धेरै भएपनि मूल्य पाउन सकिन । मखमली फूल उत्पादनमा धेरै मेहनत भएअनुसार मूल्य आउन छोडेको छ । ‘

गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ । उनले पनि मखमली मालाको माग राम्रो भए पनि मूल्य विगतका वर्षहरुको जस्तो मूल्य नपाएको बताइन् । विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको उनले सुनाइन् ।

मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको उनी बताउँछिन् । गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भए पनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने उनको भनाइ छ ।

विगतका वर्षहरुको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको उनको भनाइ छ । मखमलीको माला घरमा नै व्यापारीहरु किन्न आउने हुँदा बजारमा लैजानुपर्ने अवस्था नभएको भन्दै आफूहरुले अहिलेसम्म बिक्री गरेका मालाहरु सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको उनको भनाइ छ ।

त्यस्तै भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताइन् । उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको उनको भनाइ छ ।

विगतका वर्षहरुमा ५० रुपैयाँसम्म प्रतिमाला मूल्य पाए पनि यो वर्ष २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको उनको भनाइ छ।
उनले किसानहरुको मखमली फूलको माला बनाउन लागेको मेहनतअनुसार कम्तिमा पनि प्रतिमाला ३० रुपैयाँ मूल्य पाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताइन् ।

मखमली फूल खेतीले धानको भन्दा राम्रो आम्दानी दिएको उनको भनाइ छ । एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछिन् ।


क्लिकमान्डु