मुद्रास्फीति नियन्त्रण गर्न अस्ट्रेलियाले फेरि बढायो ब्याजदर, २०२२ मे यता १३औं पटक वृद्धि



एजेन्सी । अस्ट्रेलियाको केन्द्रीय बैंकले १३औं पटक ब्याजदर बढाएको छ । उच्च मुद्रास्फीतिमाथि नियन्त्रण गर्न मंगलबार ब्याजदर बढाइएपछि १२ वर्षयताकै उच्चस्तरमा पुगेको छ ।

रिजर्ब बैंक अफ अस्ट्रेलियाले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर ४.३५ प्रतिशत बनाएको छ । यो सन् २०११ पछिको उच्चतम स्तर हो । सेप्टेम्बरमा केन्द्रीय बैंकको गभर्नर पद सम्हालेपछि मिसेल बुलकको नेतृत्वमा यो पहिलो वृद्धि हो । अस्ट्रेलियाको केन्द्रीय बैंकले पाँच महिनापछि ब्याजदरमा वृद्धि गरेको हो ।

पछिल्लो आँकडाले सेप्टेम्बर ३० देखि ३ महिनाको अवधिमा वार्षिक मुद्रास्फीति अपेक्षा गरिएभन्दा बढी ५.४ प्रतिशतले भइरहेको अवस्थामा मुद्रास्फीतिमाथि नियन्त्रण गर्न गभर्नर बुलकले कदम चालेका हुन् ।

अस्ट्रेलियामा मुद्रास्फीतिले सीमा पार गरेपछि ब्याजदर बढाउनुपरेको प्रतिक्रिया बुलकले दिएका छन् । ‘मुद्रास्फीतिलाई समयमै सीमामा ल्याउन मौद्रिक नीतिलाई अझ कडा बनाउन आवश्यक छ वा छैन भन्ने कुरा तथ्यांक र जोखिमहरूको विकसित आकलनमा निर्भर गर्नेछ,’ उनले भने । केन्द्रीय बैंकले सन् २०२५ को अन्त्यसम्ममा मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

सन् २०२२ मे यता रिजर्ब बैंक अफ अस्ट्रेलियाले १३औं पटक ब्याज बढाएको छ । कोभिड-१९ महामारी र युक्रेन युद्धले मुद्रास्फीतिलाई बढावा दिएको हो ।


क्लिकमान्डु