रियल इस्टेट एक्स्पो पुस १२ देखि १५ सम्म: मेलापछि अर्थतन्त्र चलायमान हुने विश्वास



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ देखि १५ सम्म रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो ।

नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सह-आयोजना र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा आठौं एक्स्पो हुनेछ । एक्स्पोमा करिब एक लाख अवलोकनकर्ता पुग्ने अपेक्षा आयोजकको छ ।

आयोजकका अनुसार एक्स्पोमा उपभोक्ताले नेपालको आवास तथा जग्गा विकाससम्बन्धी समग्र पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्न सक्नेछन् ।

घरजग्गा बजार र घर खरिदकर्तालाई लक्षित गरी आयोजना हुन लागेको एक्स्पोमा रियल इस्टेट क्षेत्रको व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमाका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकसमेतको सहभागिता रहनेछ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् ।

जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, घरजग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रबलीकरण तथा पुनर्निर्माणसम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाइटिङ व्यवसायी र अन्य सेवाप्रदायकका लागि एक्स्पो साझा मन्च हुने आयोजकको दाबी छ ।

त्यसैगरी एक्स्पोमा उपभोक्ताले छनोटअनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर पाउनेछन् ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले एक्स्पोमा बिक्री र खरिदकर्तामात्रै नभएर विभिन्न सूचना र ज्ञानको आदानप्रदान पनि हुनेछ । ‘एक्स्पोमा घरजग्गासँग सम्बन्धित सम्पूर्ण सामग्री एकै छतमुनि रहनेछ,’ उनले भने, ‘ग्राहकले घरजग्गा सामग्रीमात्रै नभएर घरजग्गाको सम्पूर्ण जानकारीसमेत लिन सक्नेछन् ।’

अर्थतन्त्र चलायमान बनाउन घरजग्गाको ठूलो योगदान भएकाले घरजग्गाको कारोबारमा बढ्न आवश्यक रहेको उनले बताए । सातौं एक्स्पोमा २ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको थियो भने डेढ लाखले अवलोकन गरेका थिए ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले अनौपचारिक रूपमा कारोबार गर्ने व्यवसायीहरूको संख्या बढेकाले औपचारिक ढंगले कारोबार गर्न जोड दिनुपर्ने बताए ।

महासंघका पूर्वअध्यक्ष मीनमान श्रेष्ठले यो वर्षको एक्स्पोमा नयाँ-नयाँ प्रोडक्ट आउने बताए । उनले विगतका वर्षहरूमा पुरानो प्रोडक्ट नै खरिद-बिक्री भए पनि यो वर्ष नयँ प्रोडक्टसँगै कारोबार उल्लेख्य हुने विश्वास व्यक्त गरे । उनका अनुसार यो वर्षको एक्स्पोबाट बजार चलायमान हुनेछ ।

घरजग्गा व्यवसायी दिपक मल्होत्राले घरजग्गा कारोबार नभएसम्म अर्थतन्त्र चलायमान नहुने बताए । ‘तथापि नेपाल राष्ट्र बैंकले लिएको नीति र सरकारले समयमा निर्माण व्यवसायीको भुक्तानी नगर्दा बजारमा पैसा आएको छैन, जसले गर्दा कारोबार हुन सकेको छैन,’ उनले भने ।

तर, पछिल्ला दिनमा कारोबार बढ्दै गएकाले तिहारपछि अर्थतन्त्र पूर्ण चलायमान हुने उनको विश्वास छ ।


क्लिकमान्डु