टिकटक नियन्त्रण गर्दै प्रचण्ड सरकार, नकारात्मक प्रभाव पार्ने सामग्री राखे कारवाही हुने
काठमाडौं । पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले टिकटक नियन्त्रण गर्ने भएको छ । सरकारले टिकटकमा नकारात्मक प्रभाव पर्ने गरी कुनै पनि प्रकारको सामाग्री राख्न नपाउने व्यवस्था गर्न लागेको हो । यसका लागि सरकारले टिकटकको केन्द्रिय कार्यालयसँग सहयोग पनि मागेको छ ।
टिकटकलगायत सामाजिक सञ्जालमार्फत संप्रेषण हुने गलत सामाग्रीका कारण पछिल्लो समयमा व्यक्ति तथा समाजमा नकारात्मक सन्देश गएको, व्यक्तिको चरित्र हत्या भएको, शान्ति सुरक्षाको अवस्थामा प्रभाव पारेको, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनुका साथै राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका समस्याहरु देखा परेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रबक्ता भट्टराईका अनुसार समाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि टिकटकलगायत सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामाग्री स्वतः हटाउने बिषयमा सरकारले टिकटकको मुख्यालयसँग सहकार्य पनि गरेको छ ।
गृह मन्त्रालयले सामाजिक सद्भाव विगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक र सामाजिक सद्भाव विगार्ने र अश्लिल खालका गतिविधी टिकटिकबाट हटाउने बिषयमा नेपाल प्रहरीको साइवर व्युरोसहित सरकारी निकाय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय र टिकटकको अन्तर्राष्ट्रिय प्रतिनिधीसँग गत् शुक्रबार छलफल गरेको थियो ।
यो छलफलले टिकटकमार्फत नकारात्मक सन्देश प्रवाह गर्ने खालको सामाग्री प्रकाशन र प्रसारण गर्ने व्यक्ति पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन सहज भएको गृह प्रवक्ता भट्टराईले जानकारी दिए ।
मन्त्रालयले जिम्मेबार नागरिकको रुपमा कानूनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामाग्री मात्रै प्रकाशन र प्रसारण गर्न आग्रह समेत गरेको छ ।