सेयर बजार राताम्मे, पहिलो त्रैमासको वित्तीय रिपोर्टले लगानीकर्ता चिन्तित



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बैंक तथा वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेलगत्तै बजार राताम्मे भएको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकको नाफा करिब १८ प्रतिशतले घटेको छ । अन्य कम्पनीहरुको नाफामा पनि उल्लेख्य सुधार देखिएको छैन । जसको असर बजारमा परेको जानकारहरुको तर्क छ ।

बजार मापन गर्ने सूचक २१ दशमलव ४६ अङ्कले घटेर परिसूचक १८२६ दशमलव २३ बिन्दुमा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो । 

ग्लोबल आइएमई बैंक तीन करोड १७  लाख ७९ हजार आठ सय ७४, एनआइसी एशिया बैंक तीन करोड तीन लाख ८० हजार दुई सय १०, हिमालयन डिस्टिलरी दुई करोड ८९ लाख ५९ हजार चार सय २४ र नवील बैंक दुई करोड ८७ लाख ५२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार एनआइसी एशिया लघुवित्त छ दशमलव ९७, तारागाउँ रिजेन्सी होटल पाँच दशमलव ४७, माया खोला हाइड्रोपावर चार दशमलव २५, एशियन हाइड्रोपावर तीन दशमलव ७५ र नेशनल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ५७ प्रतिशतले कमाएका छन् । 

हिमालयन लघुवित्त १०, बाराही लघुवित्त सात दशमलव ९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर छ दशमलव ७६, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ७३ र सबैको लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् । 


क्लिकमान्डु