भोलिबाट एमडीएमएस लागु हुँदै, यी मोबाइल नचल्ने



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्ने भएको छ ।

अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा आउन लागेको हो ।

एमडीएमएस लागु भएसँगै दर्ता नभएका तथा अवैध र गैरकानुनी रुपमा भित्रिएका मोबाइलहरु चल्न बन्द हुनेछन् ।

दूरसञ्चार प्राधिकरणकाअनुसार एमडीएमएस प्रणाली लागु भएसँगै दर्ता नभएका मोबाइल फोनहरुमा नेपालका कुनै पनि सिमकार्डहरु चल्ने छैनन् ।

प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो । अब दर्ता नभएका फोनहरुमा सिम कार्ड नचल्ने तथा मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

एमडीएमएस कार्यान्वयनमा आएसँगै सुरुवातमा महंगा तथा हाई रेञ्ज फोनहरुलाई निगरानीमा राखिनेछ । जसअनुसार आईफोन, स्यामसंग, वानप्लसजस्ता फोनहरु दर्ता नभएको भए त्यसमा सिम चल्न छाड्नेछन् । प्राधिकरणले दैनिक रुपमा प्रणालीमा दर्ता नभएका फोनहरुलाई ब्लक गर्दै जाने जनाएको छ ।

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ/छैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् ।


क्लिकमान्डु