सरकारी बैंकको वित्तीय अवस्था खस्कँदो, कृषि विकास बैंक झनै कमजोर
काठमाडौं । सरकारी स्वामित्वमा रहेका वाणिज्य बैंकको वित्तीय अवस्था खस्कँदो अवस्था देखिएको छ । सरकारी स्वामित्वका तीन वटै वाणिज्य बैंकमा २ वटाको नाफा घटेको छ भने एउटा घाटामा गएको छ ।
बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कृषि विकास बैंक घाटामा रहेको छ भने नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।
असोज मसान्तसम्ममा कृषि विकास बैंक ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कृषि विकास बैंकको खराब कर्जा पहिलो त्रैमासमा १२३.९४ प्रतिशतले बढेर ५.३३ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कृषि विकास बैंकको खराब कर्जा २.३८ प्रतिशत रहेको छ ।
यस्तै कृषि विकास बैंकको प्रति सेयर आम्दानी २८ रुपैयाँ ८३ पैसा घाटामा रहेको छ । बैंकको संचालन नाफा पनि ९० करोड ८३ लाख ८६ हजार रुपैंयाँले घाटामा रहेको छ । तर, अघिल्लो आवको सोही अवधिमा बैकको संचालन नाफा २४ करोड ६५ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म बैंकको निक्षेप संकलन १ करोड ९४ लाख ७३ हजार ९८१ रुपैयाँले घटेर १ खर्ब ९९ अर्ब ४६ करोड ७१ लाख ३९ हजार ५८७ रुपैयाँमा सिमिति भएको छ । गत आवको सोही अवधमिा कृषि विकास बैंकको निक्षेप १ खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख १३ हजार ५६८ रुपैयाँ रुहेको थियो ।
यसैगरि, नेपाल बैंकको नाफा ७६.४३ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा नेपाल बैंकको नाफा ६० करोड ४० लाख ९८ हजार रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा बैकको नाफा १४ करोड २३ लाख ७० हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा २.३६ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा बैंकको खराब कर्जा ६२.७१ प्रतिशतले बढेको हो ।
नेपाल बैंकको सञ्चालन नाफा पनि ८६.९१ प्रतिशतले घटेर १० करोड ३९ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको संचालन नाफा ७९ करोड ४० लाख २९ हजार रुपैयाँ रहेको थियो ।
नेपाल बैंकको वितरणयोग्य नाफा पनि ८७.३४ प्रतिशतले घटेर ३६ करोड ७५ लाख २६ हजार रुपैयाँ भएको छ । यस्तै, असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले घटेर ३ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ पनि ५० रुपैयाँ ३४ पैसाले घटेर २४८ रुपैयाँ ४६ पैसा पुगेको छ ।
यस्तै पूर्ण सरकारी राष्ट्रिय वाणिज्य बैंकको नाफा ३१.०३ प्रतिशतले घटेर ८५ करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा बैंकको नाफा १ अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत आवको असोज मसान्तमा ३ अर्ब १८ करोड ३८ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको पहिलो त्रैमासमा घटेर २ अर्ब ५२ करोड ८४ लाख ३७ हजार रुपैयाँ मात्र कमाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालन नाफा पनि १ अर्ब ७७ करोड ८३ लाख १७ हजार रुपैयाँबाट घटेर १ अर्ब २१ करोड ५८ लाख २७ हजार रुपैयाँमा झरेको छ । बैंकको खराब कर्जा ४५.९६ प्रतिशतले बढेर ३.६२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.४८ प्रतिशत रहेको थियो ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको प्रति सेयर आम्दानी पनि ३५ रुपैयाँ ७६ पैसाबाट घटेर २१ रुपैयाँ ९९ पैसा पुगेको छ ।