आईपीओ, हकप्रद, एफपीओ र प्रिमियममा आईपीओ निष्कासन नियन्त्रण गर्छौं: रमेश हमाल



नेपाली पुँजीबजार करिब दुई वर्षदेखि शिथिल छ । मौद्रिक नीतिमा सेयर मार्जिन कर्जामा ४/१२ करोडको सीमालगायत बैंकको उच्च ब्याजदर, मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय असरका कारण बजार प्रभावित बन्दै गएको छ । तर, राष्ट्र बैंकले ४/१२ को सीमा बढाए पनि पुँजीबजारले अपेक्षित गति लिन सकेको छैन । प्रिमियममा आईपीओ जारी गर्न बोर्डले अनुमति दिए पनि प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको सेयर मूल्यमा लगातार नकारात्मक सर्किट लागिरहेको छ । यस परिप्रेक्ष्यमा बुक बिल्डिङ प्रणाली, प्रिमियममा आईपीओ निष्कासन, धितोपत्र बजार सुधारका जारी गरिएका नयाँ नीतिलगायतका विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग गरेको कुराकानीको सम्पादित अंश:

धितोपत्र बजारको सुधारका लागि नयाँ के गर्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डको अध्यक्षको मेरो कार्यअवधि सकिन लागेको छ । मैले बोर्डको अध्यक्ष हुनुभन्दा अगाडि नेपालको धितोपत्र बजार सुधारका दस्तावेज सरकारसमक्ष पेस गरेको थिएँ । मैले अध्यक्ष भएपछि धितोपत्र बजारलाई सफा पानीमा पौडी खेल्ने बनाउने पहिलो उद्देश्य लिएको थिएँ । त्यसमा सुशासनको पक्षमा धेरै सुधार गर्नुपर्नेछ । कतिपय क्षेत्रमा समयसीमा तोकेर सरकारी हाकिमको तजबिजी कम गर्ने, निजी क्षेत्रले समयमा न्याय पाउने, टाउको र अनुहार नहेरी निर्णय गर्ने भन्ने सुशासनको प्रणाली अवलम्बन गर्न खोज्यौं । योभन्दा पहिला सुधार गरेका धितोपत्र बजारका नीतिहरुभन्दा बाहेक अहिले तीन-चारवटा कुरा सुधार गर्न खाजेका छौँ ।

सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले बजारको गति वा सन्तुलनलाई स्थायित्व दिएर व्यावसायिक रुपमा सफल बनाउन म्युचुअल फन्डको भूमिका हुनुपर्छ भनेर म्युचुअल फन्डको अध्ययन गरेर सुधारको नीति तिहारअघि नै लागू गर्दैछौं । म्युचुअल फन्ड कारोबारमा सुधारमा केही नीतिगत कडाइ गर्छौं ।

प्राइभेट इक्विटी फन्ड तथा भेन्चर क्यापिटल फन्ड सहजीकरणमा पनि नीति बनाएर फन्डमा संकलन भएको पुँजीलाई दोस्रो बजारमा चलायमान बनाउने र दोस्रो बजारमा माग बढाउने काम गर्न लागेका छौं । यो तिहारको केही समयपछि लागू हुन्छ । त्यस्तै नेपालको धितोपत्र बजारमा सुशासनलाई नेपालको इतिहासमा विश्वको प्रणालीसँग दाँज्ने दुईवटा प्रोटोकल अगाडि सारिरहेका छौं । जति पनि ब्रोकर, मर्चेन्ट व्यवसायीहरु र धितोपत्र बजारमा समावेश भएका कम्पनीहरु छन्, ती सबैलाई गुणस्तरिय रिपोर्टिङ फर्म्याट दिनेगरी धितोपत्र बोर्ड र आईक्यानको सहकार्यमा स्ट्यान्डर्ड रिपोर्टिङ फर्म्याट तयार भएको छ । अब कसैले हरियो कसैले पहिलो रिपोर्ट दिन पाउँदैन । यो हो सुशासन भनेको ।

धितोपत्र बजारमा समावेश भएर कारोबार भएका कम्पनीहरुमा रहेका स्वतन्त्र सञ्चालकहरुको सुशासनको प्रणाली छैन । जसले जसलाई राखे पनि हुने अवस्था छ । त्यसको पनि सुशासन र अनुगमनको ठोस प्रणाली छैन । ठोस प्रणाली विकास गर्न समिति बनेर धेरै काम सकेका छौं । कम्पनीको स्वतन्त्र सञ्चालक बन्नलाई योग्यता क्षमता मूल्याङ्कन सेवनले गर्ने, सूचीभन्दा बाहिरको मान्छे स्वतन्त्र सञ्चालक बन्न नपाउने र योग्यतासहित बन्नुपर्ने मापदण्ड सेवनले तोक्ने योजना छ । अब कम्पनीको अडिटरको रिपोर्टमात्रै नभएर स्वतन्त्र सञ्चालकले पनि आफ्नो स्वतन्त्र रिपोर्ट दिनुपर्छ । विश्वले अपनाएको प्रणाली पनि यही हो ।

सेयर बजारमा विचौलिया हाबी हुँदा साना लगानीकर्ता मर्कामा परे भन्ने गुनासो पनि आएको छ, सेयर बजारमा चलखेल गर्नेमाथि बोर्ड मौन बसेको हो ?

धितोपत्र कानुनको सीमित व्यवस्था नभएकाले समय लाग्यो । कानुनी व्यवस्था छैन भन्दैमा खराब काम गर्नेलाई केही नगरी चुप लागेर बस्नेवाला धितोपत्र बोर्ड छैन । धितोपत्र सुधारका लागि अनेकौं बाटा अपनाउँछौं । ब्रोकर तथा मर्चेन्ट बैंकर बन्नलाई सर्टिफिकेसन कोर्स पास गर्नुपर्ने हुन्छ । व्यक्तिहरु जनताको लगानी सुरक्षा गर्न बस्ने पदहरु ब्रोकर प्रमुख वा मार्केटिङ अफिसर र प्रमुख कार्यकारी अधिकृत बन्ने व्यक्ति प्रमाणित हुनुपर्छ । धितोपत्र बोर्डले बनाएको कोर्स पास गर्नुपर्छ । त्यो कोर्स पास नपर्ने व्यक्तिले यस्तो सेवा दिन पाउँदैन । भारतमा पनि यही व्यवस्था छ ।

हामीले धितोपत्र बजारमा यसरी सबै प्रणालीमा सुशासन ल्याउन सक्दा धितोपत्र कारोबारमा सफा पोखरी निर्माण हुन्छ । त्यसका लागि बोर्डले प्रणालीगत सुधारमा एक-दुई गर्दै जान्छ । म प्रणालीमा विश्वास गर्ने मान्छे हो । एउटा व्यक्तिको निर्णयमा मात्रै हुँदैन । म दुई वर्ष बस्छु, मैले मात्रै राम्रो काम गरेर हुँदैन । काम गर्ने प्रणालीको विकास गर्दा जो व्यक्ति आए पनि प्रणालीमा बसेर काम गर्नुपर्छ । धितोपत्र कारोबार सुधारको प्रणाली भविष्यको लागि बनाउँदै छौं ।

मेरो पालामा जस्तो कारबाही धितोपत्र बोर्डको इतिहासमा भएको छैन । २९ वर्षअगाडिको रेकर्ड हेर्नुभयो भने २९ वर्षमा १० वटा कारबाही भएका छन् । यसरी हेर्दा ३ वर्षमा एउटा कारबाही भएको छ । म आएको १९ महिनामा २० वटा कारबाही भएका छन् । हामीले धितोपत्रको भित्री कारोबारमा बिगो र जेल सजायका लागि ठूला व्यवसायीलाई नै मुद्दा दर्ता गरेका छौं । सम्पती शुद्धीकरणको केसमा जरिवाना लिएका छौं । रेटिङ कम्पनीलाई कारबाही गरेका छौं । सञ्चालक समितिका सञ्चालकलाई कारबाही गरेका छौं । म आएको दिनदेखि धितोपत्र बजारका खराब कामप्रति शून्य सहनशीलतामा काम गरिरहेका छौँ । म सूचनालाई बङ्ग्याएर कुनै सिण्डिकेटको लागि मात्रै काम गर्ने कुरा मान्दिन ।

सप्लाई बढी भएर बजार प्यानिक रोक्नका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओ निष्कासन स्थगित लाग्नुभएको हो ?

अहिले आईपीको प्रणाली धेरै छिटो भएर अफ्ठ्यारो भयो भन्ने केही गुनासा पनि छन् । केही गुनासा नागरिक स्तरबाट आएका छन् । कतिपय लगानीकर्ताले राम्रोसँग प्रस्तुत पनि गरेका छन् । कतिपयले लगानीकर्ताले उच्छृंखल तरिकाले प्रस्तुत गरेका छन् । तर, बोर्ड अभिभावक हो । सबैको कुरा सुन्नुपर्छ । जसले वैज्ञानिक रुपमा सुझाव राख्छ, त्यो कुरालाई अझ सम्मानपूर्वक सुन्नुपर्छ । त्यसैले अहिले बोर्डले केही समयका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्कासन कन्ट्रोल (नियन्त्रण) गर्ने व्यवस्था खोजिरहेका छौं । हामीसँग कानुनी व्यवस्था छैन । तर पनि लगानीकर्ताको गुनासो हेरेर केही गर्न सकिन्छ कि भनेर व्यवस्थापन गर्ने कुरामा छलफल भइरहेको छ ।

पुँजीबजार सुधारका नीति ल्याउँदा कार्यान्वयनको पक्षमा कस्ता चुनौती छन् ?

नेपालमा हरेक काम गर्न चुनौती छ । नेपालको अर्को नाम चुनौती हो । एकले अर्कोलाई खुट्टामा ठोक्काएर अल्झाएर आजसम्म हाम्रो वरदान जस्तै छ । युवा जनशक्ति र स्रोत नेपालमा धेरै छ तर परिचालनमा कमजोरी छ । त्यसैले नेपालमा हरेक काम गर्न प्रणालीगत विकास हुनुपर्छ । म सरकारी अधिकारीहरुलाई शतप्रतिशत अधिकार दिनुपर्छ भन्ने मान्यता राख्दिन । नेपालको चुनौती भनेको विकासको बाटो हिँड्नुभन्दा पनि विनासको बाटोमा बढी हिँड्न रुचाउँछौं । सुधारको पक्षमा कोही छैन । बोलेरमात्रै होइन, प्रणालीमा ल्याउन सक्नुपर्छ ।

बोर्डले सर्वोत्तम सिमेन्टलाई ‘बुक बिल्डिङ’ विधिबाट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ, ‘बुक बिल्डिङ’ प्रणाली लागूपश्चात नेपालको पुँजीबजारमा कस्तो प्रभाव पर्छ ?

नेपालको पुँजीबजारमा लामो समयदेखि थाँती रहेर विवादित बनेको बुक बिल्डिङ प्रणाली मेरै पालामा सुरु भएको छ । यतिका वर्ष अड्किएर बसेको विषय मेरै भाग्यमा रहेछ । मेरै पालामा बुक बिल्डिङ प्रणालीको सुरुवात भयो । अब राम्रोसँग लागू हुन्छ । अब आउने कम्पनीलाई बोर्ड स्वागत गर्छ । बुक बिल्डिङमा आईपीओ जारी गर्ने कम्पनीको फाइल तत्काल आईपीओका लागि सदर गर्छौं । बुक बिल्डिङ प्रणाली विश्वको उत्कृष्ट प्रणाली हो । विश्वमा कुनै पनि प्रणाली शतप्रतिशत सही हुँदैनन् । सवारीमात्रै राम्रो भएर हुँदैन, चालक पनि राम्रो हुँदैन । त्यसैले प्रणालीलाई सहीसँग परिचालन गर्नुपर्छ । बुक विल्डिङ प्रणाली सैद्धान्तिक रुपमा असाध्यै राम्रो अन्तर्राष्ट्रिय प्रणाली हो । आगामी दिनमा अर्थतन्त्रमा गासिएका उत्पादनमूलक कम्पनीले जनतालाई पनि समृद्धि बाँड्ने हो । समृद्धि बाँड्ने क्रममा बुक बिल्डिङ प्रणाली आउँदा कम्पनीहरुको काम चाँडो हुन्छ । बोर्डले प्रिमियमलाई भन्दा बुक बिल्डिङ प्रणाली बढी प्राथमिकता दिएको छ ।

प्रिमियममा आईपीओ अनुमति दिएर सेबोनले गैरजिम्मेवारीपूर्ण काम गर्‍यो भन्ने आरोप छ, प्रिमियममा आईपीओ निकाल्ने कम्पनीको कारोबारमा लगातार नकारात्मक सर्किट लागिरहेको छ नि ?

प्रिमियममा आईपीओ निकाल्नु गलत हो भने नियम सुधार गर्नुपर्छ । त्यो सरकारको हातमा छ । सरकारले निर्देशन दिए हामी नियम सुधार गर्न तयार छौं । प्रिमियम भन्ने शब्द आफैँमा गलत हो । संसारमा नै  सेयरबजारमा चलेको प्रणाली भनेकै मूल्य बढाउने हो । एक सय रुपैयाँको पनि ग्यारेन्टी गर्नु हो । अण्डर राइटिङ प्रक्रियाबाट मूल्य निर्धारण गरिने हो । यो प्रिमियमको नीति मैले ल्याएको होइन । वर्षौंदेखि धितोपत्र बोर्डले बनाएको नीति हो ।

हामीले कसैको टाउको र अनुहार नहेरी दिगो आर्थिक प्रणाली निर्माणमा निजी क्षेत्रलाई सम्मान गर्नुपर्छ । ठूला निकाय लुकेर बस्ने होइन । आधार दिनुपर्छ भनेर मात्रै हामीले निर्णय गरेका हौं । म आउनुभन्दा ६ महिना अगाडिदेखि अध्यक्ष पद खाली भएकाले ६ महिना अगाडिदेखिका फाइल बसेका थिए । त्यसलाई न्याय दिनु पनि मेरो कर्तव्य थियो । अब सरकार र जनताले नै छनोट गरुन् कस्तो प्रणाली लागू गर्ने हो । आईपीओ प्रणाली नराम्रो हो, आईपीओ प्रणाली लुट हो भन्ने लाग्छ भने बन्द गरिदिए हुन्छ । जे गर्दा राम्रो हुन्छ, त्यसमा अगाडि बढ्ने हो । नेतृत्वको काम नै सही दिशा दिने हो । बिनाअध्ययन कुनै सत्यताबिना दोषारोपण गरेरमात्रै हुँदैन ।

अब नेपालको पुँजीबजार कता जान्छ ?

सुशासनको बाटो अपनाउँदा मात्रै नेपालको पुँजीबजारको विकास हुन्छ । प्रणालीले मात्रै सही गाइड दिन्छ भने अन्तर्राष्ट्रिय मापदण्ड बनेमात्रै पुँजीबजारको विकासमा अगाडि बढ्छ । नेपालको पुँजीबजार पहिलोको भन्दा प्रणालीगत रुपमा धेरै बलियो छ । सेयर बजार देश वा अन्तर्राष्ट्रिय प्रतिकूल अवस्थामा बजार मूल्य तल वा माथि जहाँ पनि जान सक्छ । सेयर बजार तल जानेबित्तिकै कसैको चरित्र हत्या गर्ने काम गर्नु हुँदैन । लगानीकर्ता सबैले बुझेर लगानी गर्नुपर्छ । यो विश्वव्यापी मान्यता हो । सबैले सुजबुझले मात्रै लगानी गर्नुपर्छ । कसैको प्रेसर वा बहकाउमा आएर लगानी गर्नु हुँदैन । नेपाली पुँजीबजारमा धेरै धमिलो पानीमा माछा मार्ने तत्वहरु छन् । विचौलियाहरुले सोझासाझा मानिसलाई फसाउने काम गरेका छन् । आज पनि तीनै मानिसको कुरा सुनिन्छ हाम्रो समाजमा । पुँजीबजारमा साक्षरताको कमी छ ।


क्लिकमान्डु