बुक विल्डिङ विधिको पहिलो आइपीओ ६ गतेदेखि



काठमाडौं । नेपालमा पहिलो पटक बुक विल्डिङ विधिमार्फत साधारण सेयर ( आईपीओ) निष्काशन हुने भएको छ ।
सर्वोत्तम सिमेन्टले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मंसिर ६ देखि १० गतेसम्म बोलकबोल खुला गर्ने भएको छ ।

कम्पनीले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेकोमा पहिलो चरणमा संस्थागत लगानीकर्तालाई ४० प्रतिशत अर्थात २४ लाख कित्ता बोलकबोल खुला गर्न लागेको हो ।

बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म रहेको छ ।

मंसिर ११ गते संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयरको प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसअनुसार सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ । कट अफ प्राइसभन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्कासन गरिने छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु