ट्रंक लाइन र डेडिकेटेड फिडर प्रयोग गरी विद्युत उपभोग गर्ने उद्योगले महसुल बुझाउने समय थप
काठमाडौं । ट्रंकलाइन र डेडिकेटेड फिडर प्रयोग गरी विद्युत उपभोग गर्नेलाई बक्यौता महसुल बुझाउने समय थपिएको छ ।
नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले एक सूचना निकाल्दै विगतमा ट्रंक लाइन तथा डेडिकेटेड फिडर प्रयोग गरि विद्युत उपभोग गर्ने उपभोक्तालाई बक्यौता रहेको महसुल बुझाउन मंसिर ५ सम्मको समय थप गरिएको जानकारी दिएको हो ।
प्राधिकरणले यसअघि भदौ १७ गते, भदौ २९ गते र कात्तिक २ गते पनि महसुल तिर्न सूचित गरेको थियो । तर, उपभोक्ताले समयसीमा अपर्याप्त भएको भन्दै गुनासो आएको र तिहार तथा छठ पर्वलाई ध्यानमा राख्दै मंसिर ५ सम्मका लागि समय थपिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको ट्रंक लाइन तथा डेडिकेटेड फिचर लाइन प्रयोग उद्योगहरुले गर्ने गर्छन् । प्राधिकरणले गत भदौमा नै महसुल नतिरेमा लाइन काट्ने भन्दै असोज ३० सम्म महसुल तिर्न भनेको थियो । उद्योगीहरुले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गुनासो गरेपछि तत्काललाई आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । हाल प्राधिकरणले मंसिर ५ सम्मका लागि समय तोक्दै महसुल तिर्ने अवधि थपेको छ ।