द्रुतमार्गको चेनेज सडकखण्डको डिजाइन परिवर्तन, ६३ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने



काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको चेनेज ३५+३६० देखि ४९+८१८.८२ खण्डसम्मको डिजाइन परिवर्तन भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गको सो खण्डको डिजाइन परिवर्तन गरी थप संरचना निर्माण गर्न लागिएको हो ।

सेनाले परिवर्तित सडकखण्डको पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको छ । प्रतिवेदनअनुसार परिवर्तित खण्डमा थप स्लोप प्रोटेक्सन, सर्भिस रोड, लिंक रोड, रेस्ट एरिया विथ भेइकल मेन्टेनेन्स, मेडिकल एड पोस्ट र रिक्रिएसन प्लेस, भेकल ओभर पास, भेइकल अन्डर पास इन्टरचेन्ज एरिया, टोल प्लाजा र प्रशासनिक भवन निर्माण हुनेछन् ।

मकवानपुरमा रहेको चेनेज सडकखण्डमा एसियन राजमार्ग प्राइमरी क्लासको निर्माण गरिने भएको छ । चेनेज सडकखण्डको डिजाइन परिवर्तन गरेर थप संरचना बनाउने प्रस्ताव गरेसँगै थप जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

प्रतिवेदनमा थप ६३.४६८ हेक्टर अधिग्रहण गर्नुपर्ने देखिएको उल्लेख छ । निजी-नम्बरी २.७७२ हेक्टर र निजी-ऐलानी ८.१६९३ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो ।

उक्त सडक निर्माणका लागि २७ हजार ७४८ रुख कटान गर्नुपर्ने भएको छ । प्रतिवेदनमा रानी वन सामुदायिक वनबाट ४ हजार ४९६ रुख, हिमशिखर सामुदायिक वनबाट १५९ रुख तथा इन्द्रज्योति सामुदायिक वनबाट ४ हजार ५८९ रुख, पन्चक्नया सामुदायिक वनबाट ६ हजार ३३८ रुख, गोरक्ष सामुदायिक वनबाट ६ हजार ५८८ रुख तथा दुर्गामाई सामुदायिक वनबाट ५ हजार ५७८ रुखहरु कटान गर्नुपर्नेछ ।

उक्त सडकखण्डले बागमती प्रदेश, मकवानपुर जिल्ला, मकवानपुरगढी गाउँपालिका वडा नम्बर १, बकैया गाउँपालिका वडा नम्बर ५ र हेटौंडा उप-महानगरपालिका वडा नम्बर १८ लाई प्रभाव पार्नेछ ।

कम समय र खर्चमा काठमाडौंबाट तराईलाई जोड्ने छोटो द्रुतमार्गको अवधारणासहित सरकारले आयोजना अघि बढाएको छ । कुल लम्बाई ७०.९९७ किलोमिटर रहेको आयोजनाको ३५+३६० देखि ४९+८१८.८२ खण्डसम्मको डिजाइन परिवर्तन भएको र विभिन्न संरचना पुनः थप गरिएकाले प्रतिवेदन तयार गरेको जनाएको छ ।


क्लिकमान्डु