मलेसिया ६ विकेटले पराजित, नेपाल सेमिफाइनलमा



काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । सोमबार भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

लगातार २ जित निकालेसँगै नेपाल एक खेल नखेल्दै सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ३४ मा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले ४ छक्का र ४ चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन जोडे । आशिफ सेखले २ छक्का र १ चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले २/२ रन बनाए ।  मलेसियाका लागि मोहम्मद अमिरले तीन तथा पवनदीप सिंहले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । मलेसियाका ओपनर एवं विकेट किपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले १/१ विकेट लिए ।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुवेत छन् । नेपालले तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ ।


क्लिकमान्डु