नेपालका साना तथा मझौला उद्योगलाई अमेरिकाको साढे १६ अर्ब ऋण सहयोग
काठमाडौं । नेपालका साना तथा मझौला उद्योगलाई अमेरिकाले साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । अमेरिकाका विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँगको भेटका क्रममा १२५ मिलियन अमेरिकी डलर अर्थात् १६ अर्ब ६२ करोड ५० लाख रुपैयाँ ऋण सहयोग प्रतिबद्धता जनाएका हुन् ।
अमेरिकी सहयोग नेपालका बैंकहरुमार्फत साना तथा मझौला उद्योगमा प्रवाह गरिनेछ । बैंकमार्फत हुने कर्जा प्रवाहले नेपालको बैंकिङ क्षेत्रलाई थप सहज हुने भएको छ ।
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच अमेरिकी विदेश मन्त्रालयमा सोमबार राति भेटवार्ता भएको हो । भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा छलफल भएको छ ।
दुई देशका विदेशमन्त्रीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझा चासोका विषयमा पनि छलफल गरेका छन् । साउदले नेपालले अल्पविकसित देशबाट मध्यमस्तरको देशमा स्तरोन्नतिका लागि कार्ययोजना बनाएकाले थप सहयोगको खाँचो औंल्याएका थिए ।
मन्त्री साउदले नेपाललाई व्यापार तथा लगानी, बजारको पहुँच, कृषिको विकास र सूचना प्रविधिको विकासका लागि सहयोग गर्न अमेरिकी सरकारसँग अनुरोध गरेका थिए । मन्त्री साउदले नेपाललाई थप वस्तुहरूको सुविधासहित व्यापार सहुलियत प्रदान गर्न अनुरोध पनि गरे ।
मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोगको सहयोग उल्लेखनीय भएको बताए । द्विपक्षीय वार्ताका क्रममा दुवै पक्षले एमसीसी परियोजना तोकिएको समयमा नै सम्पन्न हुनेमा विश्वस्त रहेको बताएका थिए ।