एक वर्षपछि असोजमा भित्रियो सबैभन्दा धेरै मोबाइल फोन, दसैंमा पनि बढेन बिक्री



काठमाडौं । एक वर्षपछि असोजमा सबैभन्दा बढी मोबाइल फोन आयात भएको छ । गत वर्षको भदौमा व्यवसायीले दसैंलक्षित सबैभन्दा बढी मोबाइल फोन आयात गरेका थिए । त्यसपछि मासिक २ देखि ३ लाख सेट आयात हुँदै आएको थियो । तर, यो वर्षको दसैंका लागि व्यवसायीले ठूलो मात्रामा मोबाइल फोन आयात गरेको पाइएको छ ।

गत वर्ष विदेशी सञ्चितिमा दबाब परेपछि सरकारले मोबाइल फोनको आयातमा कडाइ गरेको थियो । जसले गर्दा आयात प्रभावित भएको थियो । साथै, अर्थतन्त्रमा देखिएको समस्याका कारण माग कम भएको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म पनि मोबाइल फोनको माग निकै कम भएको व्यवसायी बताउँछन् । वर्षभरि हुने व्यापारको ४० प्रतिशत कारोबार दसैंमा हुँदै आएको थियो । तर, अर्थतन्त्रमा देखिएको समस्याका कारण व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ ।

हरेक दसैंमा मोबाइल फोनमा विभिन्न अफरसहित ग्राहकलाई आकर्षण गर्ने प्रचलन छ । सोहीअनुसार आयातकर्ताले दसैंलक्षित मोबाइल फोन आयात हुने गर्छ । त्यस्तै, चालु आर्थिक वर्षको असोजमा व्यवसायीले दसैंलक्षित मोबाइल फोन आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

यो वर्षको दसैंका लागि असोजमा ४ अर्ब २८ करोड ८४ लाख रुपैयाँको ५ लाख ५ हजार ४४ सेट मोबाइल फोन आयात भएको छ । जसबाट सरकारले ७९ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । असोजमा आयात भएको मोबाइल फोन १२ महिनायताकै उच्च हो ।

आयातकर्ताले दसैंका लागि मोबाइल फोन आयात गरे पनि बिक्री भने हुन नसकेको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई बताउँछन् । उनका अनुसार अर्थतन्त्रमा देखिएको समस्याले मोबाइल फोनको माग निकै कम छ । व्यवसायीले यो वर्षको दसैंमा अन्य समयमा भन्दा बढी व्यापार गर्न सकेनन् ।

‘आयातकर्ताहरुले दसैंका लागि मोबाइल फोन आयात गरेका थिए । आयातकर्ताले व्यवसायीका लागि विभिन्न अफर पनि राखेका थिए । जसका कारण व्यवसायीले अफरमा धेरै मोबाइल फोन आयातकर्ताबाट उठाएका छन्,’ उनले क्लिकमान्डुसँग भने, ‘तर बिक्री नहुँदा मोबाइल फोन स्टकमा थन्किएको छ ।’

यो वर्षको दसैंमा विगतको तुलनामा २० प्रतिशत पनि व्यापार हुन नसकेको उनले बताए । ‘अर्थतन्त्रमा देखिएको समस्याले व्यापार नहुँदा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको छ,’ भट्टराईले भने, ‘तिहारपश्चात करिब २० प्रतिशत मोबाइल फोन व्यवसायी विस्थापित हुने तरखरमा छन् ।’

नेपालले गत वर्षको भदौमा सबैभन्दा बढी मोबाइल फोन आयात गरेको थियो । गत वर्ष भदौमा आयातकर्ताले दसैंलक्षित ३ अर्ब ९३ करोड ५७ लाख रुपैयाँको ५ लाख ६७ हजार ९५२ सेट मोबाइल फोन आयात गरेका थिए । जसबाट सरकारले ७२ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्ममा ९ अर्ब ७७ करोड ३ लाख रुपैयाँको १० लाख २२ हजार सेट मोबाइल फोन आयात भएको छ । जसबाट १ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालले वैशाखमा १ लाख ४१ हजार ४३६ सेट, जेठमा ३ लाख १२ हजार ७९६, असारमा २ लाख ४२ हजार ५१८ सेट, साउनमा २ लाख ५४ हजार १५ सेट र भदौमा २ लाख ६२ हजार सेट मोबाइल फोन आयात गरेको छ ।

नेपालले तीन महिनामा ९ अर्बको मोबाइल फोन आयात गरेकोमा चीन र भारतबाट बढी आयात भएको देखिन्छ । नेपालले चीनबाट तीन महिनामा ६ अर्ब ५७ करोड २ लाख रुपैयाँको ८ लाख २ हजार ११ वटा मोबाइल फोन सेट आयात गरेको छ । जसबाट १ अर्ब २१ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चीनपछि भारतबाट ३ अर्ब ९ करोड २४ लाख रुपैयाँको २ लाख १८ हजार ४७३ सेट मोबाइल फोन आयात भएको छ । जसबाट ५७ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा अष्ट्रेलियाबाट ७२ लाख रुपैयाँका ७४ वटा, जापानबाट १ करोड २५ लाख ८५ हजार रुपैयाँका २०५ वटा, दक्षिण कोरियाबाट ३३ लाख रुपैयाँका ५४ वटा, कुवेतबाट १० लाख रुपैयाँका १०२ वटा, कतारबाट २५ लाख ४९ हजार रुपैयाँका ५८ वटा, यूएईबाट १ करोड ११ लाख ७४ हजार रुपैयाँका १२२ वटा र बेलायतबाट २० लाख रुपैयाँका २७ वटा मोबाइल फोन आयात भएका छन् ।


क्लिकमान्डु