चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँः मन्त्री रिजाल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरु ठगी गर्नेहरुलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् ।

आईतवार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उहाँले विद्युतीय व्यापारसम्बन्धी ऐनहरु बन्न नसक्दा कालोबजारी गर्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताएका हुन् । उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरु तीन लाख तिरेर छुट्ने गरेको भन्दै उनले जरिबानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए । उनले ठूलो कालोबजारी गर्नेहरुलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिबाना गर्ने प्रावधान राख्नुपर्ने बताए । मन्त्री रिजालले जरिबाना तिराएकाहरुले जरिबाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानून नरहेको जिकिर गरे ।

उनले भने, ‘५० हजारदेखि ३ लाख सम्मको जरिबाना छ । समातिएका ठूला कालोबजारीहरुलाई ३ लाखै त हो भनेर फुत्किने गरेका छन् । त्यसकारण हामी सचेत हौँ । जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन, तर ठूलो ठगीको लागि सजाय राखिएको हो । सानोलाई त ३ लाखदेखि ५ लाख जरिबाना राखिएको छ । यसलाई कसुर हेरी २ देखि १० लाख गर्नुपर्छ । कालोबजारीहरुलाई हामीले यसपालि केही गर्न सकेनौँ । गयो समात्यो, २० हजार फाइन गरेका थियौँ, ठूलालाई ३ लाख गर्ने हो तर उठाउने कानून छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन ।’


क्लिकमान्डु