कोरोनाले निर्माण कार्य लम्बिँदा होटल हिल्टनको लागत बढ्यो, ५ अर्ब ऋण लिँदै



काठमाडौं । कोरोना महामारी र अन्य विभिन्न कारणले गर्दा नक्सालमा निर्माणाधीन पाँचतारे होटल ‘हिल्टन’को लागत बढेको छ । कोरोना महामारीलगायतका विभिन्न कारणले निर्माणमा भएको ढिलाइ र बढ्दो खर्चका कारण होटलको लगानी बढेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार होटलको सुरुवाती लागत अनुमान ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ थियो । अहिले लागत ३ प्रतिशतले बढेर ६ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

शंकर ग्रुपद्वारा सञ्चालित होटलको निर्माण सन् २०१८ मा सुरु भई २०२१ मा सम्पन्न भइसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण निर्माण समय लम्बिएपछि लागत पनि बढेको कम्पनीले जनाएको छ ।

हालसम्ममा होटल निर्माणको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ । कम्पनीले अबका दुई महिनामा अनौपचारिक रुपमा होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ । तर, सन् २०२४ को जुलाईबाट मात्रै होटलले पूर्णरुपमा व्यापार गर्नेछ ।

तत्कालीन समयमा होटलको नाम डबलट्री हिल्टन राखिएको थियो भने १३५ वटा कोठा तय गरिएको थियो । तर पछि होटलमा थप ३९ वटा कोठा थप गर्दै कुल कोठा संख्या १७४ पुर्‍याइयो भने होटलको नाम परिवर्तन गरी हिल्टन राखियो ।

कम्पनीका अनुसार सुरुमा प्रतिकोठा २ करोड ८० लाख रुपैयाँ लगानी अनुमान गरिएको थियो । कम्पनीले सन् २०२२ मा निर्माण कार्य लम्बिएसँगै लागत बढेको भन्दै प्रतिकोठा ३ करोड ८० लाख रुपैयाँ बनाएको थियो । लागत पुनः संशोधन गरी प्रतिकोठा ४ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

सन् २०१२ मा दर्ता भएको होटललाई सन् २०२३ मा जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको छ । होटल जगदम्बा हस्पिटालिटी ग्रुपले निर्माण गरेको हो ।

होटल निर्माणका लागि कम्पनीले ७३:२७ अनुपातमा ऋण लिएको छ । त्यस्तै, कम्पनीले थप ५ अर्ब बढी ऋण लिने भएको छ । साहिल अग्रवालको ९० प्रतिशत सेयर रहेको कम्पनीले थप ५ अर्ब २ करोड २० लाख रुपैयाँ ऋण लिने भएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब १ करोड २० लाख रुपैयाँ  र अल्पकालीन कर्जाका लागि १ करोड रुपैयाँको रेटिङ गराएको छ ।

मुलुकभर तथा विशेष गरी काठमाडौंमै पनि विभिन्न ब्राण्डमा लक्जरी होटल निर्माण भइरहेको र केही होटल निर्माण हुने तयारीमा भएकाले आगामी दिनमा होटल क्षेत्रमा समेत तीव्र प्रतिस्पर्धा हुने कम्पनीको भनाइ छ । कम्पनीको मुख्य आम्दानीको स्रोत विदेशी पर्यटकमा निर्भर रहनेसमेत कम्पनीले जनाएको छ ।

कम्पनीले होटल निर्माण सुरु गरेसँगै हिल्टनसँग व्यवस्थापनका लागि सम्झौता गरेको थियो । हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेड बेलायत हिल्टन वर्ल्डवाइड होल्डिङ इंकको स्वामित्व भएको कम्पनी हो । जुन अमेरिकन मल्टिनेसनल हस्पिटालिटी कम्पनी हो । यस कम्पनीले सन् २०२३ अक्टोबरसम्म विश्वका १२३ देशमा ७ हजार २९५ होटल तथा रिसोर्टका १० लाख वटा कोठा व्यवस्थापन गर्दै आएको छ ।

शंकर ग्रुपले मुलुकमा ४० वर्षदेखि विभिन्न्न व्यापार व्यवसायमा लगानी गर्दै आएको छ भने साहिल अग्रवालसँग ट्रेड तथा उद्योगमा २० वर्षको अनुभव छ । शंकर ग्रुपले हाल उत्पादनमूलक उद्योग, ट्रेडिङ, बीमा, जलविद्युत्, घरजग्गालगायतका क्षेत्रमा लगानी गरेको छ ।

हिल्टन होटलमा हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने कम्पनीको भनाइ छ । होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने छ ।

होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुनेछ । दुई तला अन्डर ग्राउन्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्विमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन्।


क्लिकमान्डु