एसियाभरका अल्पाइनर्सको सम्मेलन नेपालमा



काठमाडौं । नेपालमा एसियाभरका अल्पाइनर्सहरूको सम्मेलन हुने भएको छ । एसियाली अल्पाइन क्लबहरुको छाता संगठन युनियन अफ एसियन अल्पाइन एसोसिएसन (यूएएए)को साधारण सभा नेपालमा गर्न लागिएको छ । साधारण सभाको आयोजना नेपाल पर्वतारोहण संघ (एनएमए)ले गर्दै छ ।

हिमाली गतिविधि हुने एसियाका १५ राष्ट्रका ५० भन्दा बढी प्रतिनिधि नेपाल आउने र हिमाली गतिविधिसहित जलवायु परिवर्तनले पारेको प्रभावसहितका विषयमा छलफल हुने एनएमएका महासचिव मोहन लम्सालले बताए ।

उनले भने, ‘नेपालमा हुने यस्तो सम्मेलनको हाम्रो देशको प्रचार गर्ने, हिमाल र हिमालसँग सम्बन्धित अन्तर्क्रियाबाट आउने निष्कर्षलाई उपयुक्त नीति निर्माण गर्न सुझाव दिन सकिन्छ ।’

हिमाली गतिविधिको जोखिम कम गर्ने र पर्यटकलाई सुरक्षित राख्ने विषयमा यस्तो सम्मेलनले प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग गर्ने महासचिव लम्सालको भनाइ छ । सम्मेलन मंगलबार काठमाडौंमा हुनेछ ।

यूएएएको सम्मेलनसँगै एनएमए ५०औं वर्षमा पुगेको अवसरमा विशेष कार्यक्रम पनि हुने भएको छ । एनएमए ५० वर्ष पुगेको अवसरमा हुने कार्यक्रमको उद्घाटन भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् ।


क्लिकमान्डु