आईफोन बनाउँदै टाटा



एजेन्सी । भारतीय कम्पनी टाटा ग्रुपले भारतमै आईफोन निर्माण गर्ने भएको छ । टाटा ग्रुपले एप्पलको सप्लायर्स विस्ट्रन कर्पको अपरेसनलाई अधिग्रहण गरेर आफैं आईफोन उत्पादन गर्ने भएको हो ।

टाटाले भारतको स्वदेशी बजार र अन्तराष्ट्रिय बजारकै लागि आईफोनको उत्पादन गर्ने भएको हो । साढे दुई वर्षमा टाटाले भारतमा नै आईफोनको निर्माण गर्ने भारतका विद्युत तथा प्रविधिमन्त्री राजीव चन्द्रशेखरले बताएका छन् ।

एप्पलले चीनबाट आफ्नो उत्पादनलाई अन्य देशमा स्थानान्तरण गर्न खोजिरहेको छ । यहीबीच महत्वपूर्ण कदमका रुपमा टाटाले आईफोन निर्माण गर्ने घोषणा भएको हो । यसले भारतको बढ्दै गएको उत्पादन क्षमता र विश्वका ठूला कम्पनीहरुको भारतमा प्रवेशलाई देखाएको छ ।

हाल भारतमा विस्ट्रन कर्पबाहेक फक्सकन र पेन्टागन कर्पले आईफोनको उत्पादन गरिरहेका थिए । अब भने टाटाले विस्ट्रन कर्पलाई प्राप्त गरेर आफैंले आईफोन उत्पादन गर्ने भएको छ ।

भारतका विद्युत तथा प्रविधि मन्त्री चन्द्रशेखरले सामाजिक सञ्जालको माध्यम एक्समा यो विषयको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पिएलआई योजनाले भारतलाई विश्वासिलो र मुख्य स्मार्टफोन हबका रुपमा विकास गर्न सहायता गरेको उनले बताएका छन् । प्रोडक्सन लिंक्ड इनिएसेटिभ सन् २०२१ मा घोषणा भएको योजना हो, जसअन्तर्गत विभिन्न १४ सेक्टरमा भारतलाई अघि बढाउने योजना छ ।

टाटाले झन्डै एक वर्षको छलफलपछि विस्ट्रन कर्पलाई अधिग्रहण गरेको हो । यो भारतकै ठूलो अधिग्रहणको घटना पनि हो । नुनदेखि प्रविधिका सेवाहरुसम्म बिक्री गर्ने १५५ वर्षीय टाटा ग्रुप भारतको अर्थतन्त्रको प्रमुख हिस्साका रुपमा रहेको छ ।

विस्ट्रनले तामिलनाडुमा रहेको आफ्नो कारखानाबाट आईफोनको च्यासिस र अन्य पार्टहरु बनाइरहेको थियो । अब टाटाको अधिग्रहणपछि भने आईफोनको पूर्ण उत्पादन गर्नेतर्फ काम हुने भारतका प्रविधि मन्त्री चन्द्रशेखरले बताएका छन् ।


क्लिकमान्डु