माइक्रोसफ्टले ९१ खर्बमा किन्यो एक्टिभिजन ब्लिज्जार्ड



एजेन्सी । माइक्रोसफ्टले ६८.७ अर्ब अमेरिकी डलर (९१ खर्ब ३० अर्ब ६४ करोड ९० लाख नेपाली रुपैयाँ) मा गेम निर्माता कम्पनी एक्टिभिजन ब्लिज्जार्डलाई अधिग्रहण गरेको छ ।

कल अफ ड्युटी, वर्ल्ड अफ वारक्राफ्ट र डिआब्लोजस्ता विश्वचर्चित गेमहरुको निर्माता रहेको एक्टिभिजन ब्लिज्जार्डलाई माइक्रोसफ्टले अधिग्रहण गरेको हो । झन्डै २० महिना लामो रस्साकस्सीपछि यो प्रक्रिया सकिएको हो ।

अब कल अफ ड्युटीजस्ता गेम माइक्रोसफ्टको आफ्नै गेमिङ कन्सोल एक्स बक्समा खेल्न पाइनेछ । एक्टिभिजन ब्लिज्जार्डलाई सन् २०२२ जनवरीमा नै अधिग्रहण गर्ने घोषणा भएको थियो ।

‘हामीलाई गेमिङ मनपर्छ,’ एक्सबक्सका अध्यक्ष फिल स्पेन्सरले भनेका छन्, ‘हामी गेम खेल्छौं । गेम बनाउँछौं र अरुका लागि यसको कस्तो महत्व छ भन्ने बुझेका छौं । आज हामीले एक्टिभिजन ब्लिज्जार्ड र उनीहरुको टिमलाई एक्सबक्समा स्वागत गर्न पाएका छौं ।’

एक्टिभिजन ब्लिज्जार्डको अधिग्रहण माइक्रोसफ्टको हालसम्मकै सबैभन्दा महँगो हो । यसअघि माइक्रोसफ्टले लिंन्क्डइनलाई सन् २०१६ मा २६ अर्ब अमेरिकी डलर (३४ खर्ब ५५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ)मा अधिग्रहण गरेको थियो ।

गेमिङ क्षेत्रमा पनि कम्पनीको यो निकै ठूलो लगानी हो । माइक्रोसफ्ट एक्टिभिजन ब्लिज्जार्डको अधिग्रहणसँगै टेनसेन्ट र सोनीपछिको धेरै आम्दानी भएको तेस्रो गेमिङ कम्पनी बनेको छ । एक्सबक्समा भने एक्टिभिजन ब्लिज्जार्डका गेमहरु सन् २०२४ बाट खेल्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु