नेपाली क्लोदिङ ब्राण्ड जो नेपालमात्रै होइन, विदेशमा पनि चर्चित छन्



काठमाडौं । बिदेशी ब्राण्ड बिदेशी ठाँट- कुनै समय अधिकांश नेपाली उपभोक्ताको आम बुझाइ यस्तै थियो । तर, समय बदलियो ।

बिदेशी ब्राण्ड भन्ने बित्तिकै गुणस्तरीय हुने सोचेरै धेरैले यसलाई इज्जतको विषय बनाउने गरेकोमा हाल गुणस्तरीय नेपाली ब्राण्डका कारण यो सोचाइमा परिवर्तन आउन थालेको छ ।

अब्बल गुणस्तरका कारण नेपालमा बिदेशी ब्राण्ड प्रतिको मोह बढिरहँदा बिदेशीहरु भने नेपाली ब्राण्ड प्रति आकर्षित हुन थालेका छन् । विदेशीमात्र नभएर गुणस्तरीय ब्राण्ड खोज्ने नेपालीहरु पनि नेपाली ब्राण्डप्रति लोभिन थालेका छन् ।

हाल धेरै नेपाली ब्राण्डहरु नेपालमा मात्र नभएर बिदेशमा पनि ज्यादा चर्चित छन् । केहि त नेपालमा बजार नै नपाएका ब्राण्डहरु पनि बिदेशमा माग अत्याधिक हुने गरेको छ ।

यसपटक हामी नेपाली कपडाका केहि ब्राण्डका बारेमा चर्चा गर्दैछौं :

शेर्पा ऐडभेन्चर्स गियर

शेर्पा शब्द जति नेपालमा चर्चित छ उति नै विश्वभर यो शब्दको चर्चा हुने गर्छ । हिमाल चढ्नका लागि ख्याति पाएका शेर्पाहरुकै नामबाट नेपाली ब्राण्ड शेर्पा एडभेन्चर्स पछिल्लो समय बिेदेशीहरुमाझ चर्चित हुदै गएको छ । विशेषगरी हिमाल आरोहरण, लामो दुरीको पदयात्रा र साहसिक खेलहरुलाई लक्षित गर्दै फेसनेवल कपडा उत्पादन गर्दै आएको शेर्पा एडभेन्चर्स गियरले नेपाली बजारमा भन्दा बढि बिदेशी बजारमा चर्चा पाउँदै आएको छ ।

सन् २००३ मा टासी शेर्पाले शुरु गरेको शेर्पा एड्भेन्चरले ज्याकेट, डाउन ज्याकेट, स्वेटर, हुकलगायतका उत्पादन गर्दै आएको छ। नेपाली बजारमा यस ब्राण्डका कपडाहरु न्युनतम २ हजार देखि ३५ हजारसम्मका छन् । ठमेलमा रहेको यो कम्पनीले अमेरिका तथा युरोपका केहि देशमा आउटलेट खोलेर कपडा निर्यात गर्दै आएको छ ।

सोनाम गियर

सन २०११ मा स्थापना सोनाम ब्राण्ड पछिल्लो समय नेपालीहरुले पनि रुचाएको ब्राण्ड हो । महंगो भएतापनि गुणस्तरका हिसाबले लोकप्रिय बन्दै गएको सोनाम ब्राण्डका कपडा नेपालमा मात्रै नभएर बिदेशमा पनि चर्चित छन् । टासी छोम्बे नेपालीले शुरु गरको सोनाम गियरले २५ वटा भन्दा धेरै आउलेट नेपालमा खोलिसकेको छ भने विदेशमा पनि यसको व्यापार बढ्दो छ ।सोनाम गियरले महिला पुरुष र बच्चाहरुका लागि फेसनेवल कपडा उत्पादन गर्दै आएको छ ।

कासा
रमिला नेम्कुल श्रेष्ठले पाटन ढोकाको एउटा सानो पसलबाट शुरु गरेको कासा ब्राण्ड यतिवेला ट्रेन्ड कपडा किन्नेहरुको लोकप्रिय बन्दै आएको छ । बजारमा कासा ब्राण्डका कपडा न्युनतम ३ हजार देखि अधिकतम १९ हजारसम्म मूल्यमा पाइन्छन्। पाटनबाट शुरु भएको यो कम्पनीले दरबारमार्गमा स्टल समेत राखेको छ ।

विशेषगरी ओभरकोट बढि रुचाइएको यस ब्राण्डमा गर्मी र जाडोका नयाँ नयाँ डिजाइनमा लुगाहरु उपलब्ध हुँदै आएको छ ।

एकादेशमा

२०११ मा स्थापना भएको एकादेशले नेपाली पुराना डिजाइन र नयाँ डिजाइनलाई फ्युजन गरि लत्ताकपडा उत्पादन गर्दै आइरहेको छ ।

दुई दिदि बहिनी अल्पजा र अनुजा राजभण्डारीले ठमेलबाट शुरु गरेको यो ब्राण्डले शुरुमा विदेशी पर्यटकलाई केन्द्रित गरेर डिजाइनर लुगा उत्पादन गर्दै आएपनि अहिले भने नेपाली बजारमा पनि केन्द्रित हुन थालेको छ । स्थानीय शिप प्रयोग गरेर हातले निर्माण गरिने हुँदा यसलाई आरामदायी पोसाकको रुपमा पनि हेर्ने गरिन्छ । एक हजार रुपैयाँ देखि १५ हजार रुपैयाँसम्म मुल्यमा नेपाली बजारमा एकादेशका डिजाइनर लुगाहरु उपलब्ध हुँदै आएका छन् ।

लोगो फेसन इन्डष्ट्रिज

सन १९९७ बाटै उत्पादन शुरु भएको लोगो फेसन इन्डिष्ट्रिज शुरुमा विदेशमा र पछि नेपालमा चर्चामा आएको ब्राण्ड हो । हिरा मोक्तान अध्यक्ष रहेको यो कम्पनीले शुरुमा दुबई बाट आफ्नो उत्पादन शुरु गरेपनि पछि नेपालबाट उत्पादन शुरु गरेको हो ।

भक्तपुरमा रहेको यो कम्पनीले साइप्रस माल्टालगायतका युरोपियन देशहरुमा आफनो उत्पादन निर्यात गर्दै आएको छ । लोगो ब्राण्ड नेपालमा भने महिला पुरुष दुबैले रुचाएको ब्राण्ड हो ।


क्लिकमान्डु