इजरायल-हमास युद्ध वैश्विक अर्थव्यवस्था र विकासका लागि गम्भिर खतराः विश्व बैंक अध्यक्ष



एजेन्सी । विश्व बैंकका अध्यक्ष अजय बंगाले इजरायल-हमासबीच भइरहेको युद्ध वैश्विक अर्थव्यवस्था र त्यसको विकासका लागि गम्भिर खतरा भएको बताएका छन् ।

मंगलबार साउदी अरबमा भएको एक कार्यक्रममा बोल्दै उनले यो युद्धले विश्वको अर्थव्यवस्था र त्यसको विकासलाई गम्भिर रुपमा प्रभावित पार्ने बताएका हुन् । हालको वैश्विक अर्थव्यवस्था गम्भिर मोडमा आएर अडिएको पनि उनले बताए ।

बंगाले विश्वमा पहिल्यैबाट धेरै कुराहरु समस्याका रुपमा रहेको र अहिले पुनः इजरायल र गाजाको भू राजनीतिक समस्या पनि सुरु भएको बताउँदै यी सबैले आर्थिक विकासमा गम्भिर प्रभाव पर्ने बताए । भूराजनीतिक तनाब विश्वको अर्थव्यवस्थाका लागि गम्भिर खतरा रहेको बताउँदै उनले यसलाई बेवास्ता गर्न नमिल्ने पनि बताए ।

इजरायल-हमासबीचको युद्धले विश्वको अर्थव्यवस्थालाई प्रभाव पार्न थालेको छ । संसारभरका सेयर बजारहरुमा यसको असर देखिएको छ भने पेट्रोलियम पदार्थको मूल्यमा पनि यसले उतारचढाव ल्याउने देखिएको छ ।

गत ७ अक्टोबरमा हमासले इजरायलमाथि हमला गरेको थियो । त्यसपछि इजरायलले पनि हमास विरुद्ध जवाफी हमला तथा कारबाही गरिरहेको छ ।


क्लिकमान्डु