नेपालबाट चीनले लैजान्छ रुद्राक्ष, धुपसहितका यी मुख्य ११ वस्तु



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा २ खर्ब ८६ अर्ब १९ करोड ६९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । नेपालले दुई महिनाको अवधिमा २ खर्ब ५९ अर्ब ७४ करोड ९९ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

नेपालले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा गत वर्षको तुलनामा ५.३२ प्रतिशतले कम वैदेशिक व्यापार गरेको छ । गत वर्षको दुई महिनाको अवधिमा नेपालले २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

वैदेशिक व्यापारमा भारत र चीनको हिस्सा निकै ठूलो छ । भारतसँग नेपालले भदौसम्ममा १ खर्ब ७७ अर्ब ४९ करोड ३० लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । त्यसमा भारतबाट १ अर्ब ६० अर्ब ७५ करोड ७९ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालबाट १६ अर्ब ७३ करोड ५० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जसमा नेपालले १ खर्ब ४४ अर्ब २ करोड २९ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

त्यस्तै, नेपालले चीनसँग पनि उच्च वैदेशिक व्यापार गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आवको दुई महिनाको अवधिमा चीनसँग ४७ अर्ब ८ करोड ६६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । त्यसमा नेपालले ४६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालबाट ५४ करोड ३३ लाख ७४ हजार रुपैयाँको निर्यात गरेको छ । जसमा नेपालले ४४ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

भारतपछि वैदेशिक व्यापारमा ठूला हिस्सा रहेको चीनमा नेपालले मुख्य ११ वस्तु निर्यात गर्दै आएको तथ्याङ्कले देखाउँछ । नेपाल राष्ट्र बैंकअनुसार नेपालबाट दुई महिनाको अवधिमा १४ करोड ८९ लाख रुपैयाँकोे मात्रै मुख्य ११ वटा वस्तु निर्यात गरेको छ ।

तथ्याङ्कअनुसार नेपालले चीनमा सबैभन्दा धेरै हस्तकला निर्यात गर्दै आएको छ । नेपालले सो अवधिमा ५ करोड ७४ लाख रुपैयाँको हस्तकला निर्यात गरेको छ । त्यसपछि नेपालले ४ करोड ८५ लाख रुपैयाँको उलन कार्पेट निर्यात गरेको छ ।

त्यसैगरी, नेपालले १ करोड ७५ लाख रुपैयाँको तयारी पोशाक, ७६ लाख रुपैयाँको अगवत्ती, १३ लाख रुपैयाँको चाउचाउ, ६३ लाख रुपैयाँको अन्य हस्तकला सामग्री, ४३ लाख रुपैयाँको पस्मिना, १० लाख रुपैयाँको तयारी छालाको सामग्री र ४५ लाख रुपैयाँको रुद्राक्ष निर्यात गरेको छ । साथै, नेपालबाट ३९ करोड ४५ लाख रुपैयाँको अन्य सामग्री निर्यात गरेको छ ।


क्लिकमान्डु